• ७ वैशाख २०८१, शुक्रबार

तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे आठ अर्ब

blog

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपियाँ नाफा कमाएको छ । 

आव २०७९/८० को साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपियाँ आम्दानी गरेको छ । यो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी आठ अर्ब ५० करोड रुपियाँ (करअघि) नाफा भएको प्राधिकरणले जनाएको हो । 

प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार आफ्नो स्वामित्वमा रहेका विद्युत्गृहबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपियाँ आम्दानी भएको छ । यस अवधिमा प्राधिकरणले निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपियाँको विद्युत् खरिद गरेको छ । 

देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी यो अवधिमा छ अर्ब १७ करोड रुपियाँ आम्दानी भएको छ । 

आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ घाटामा रहेको प्राधिकरणले त्यसपछिका वर्षहरूमा निरन्तर नाफा कमाइरहेको छ । प्राधिकरणको नाफा आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपियाँ, आव २०७७/७८ मा छ अर्ब नौ करोड र आव २०७८/७९ मा १६ अर्ब १६ करोड रुपियाँ रहेको प्राधिकरणले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

आगामी दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि चार÷पाँच वर्षभित्रमा तीन–चार खर्ब रुपियाँ लगानी गर्नुपर्ने र नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था नरहेकाले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।