• १२ वैशाख २०८१, बुधबार

विश्वकपमा इतिहास रच्दै महिला रेफ्री

blog

रेफ्री स्टेफानी फ्रापार्ट । तस्बिर : फिफा

काठमाडौं, मंसिर १५ गते । कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार (आज) राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।

विश्वकपमा इतिहास रच्ने यो अवसर पाउने रेफ्री स्टेफानी फ्रापार्ट हुनुहुन्छ । समूह ‘ई’ अन्तर्गत अल बायट रङ्गशालामा राति १२:४५ बजे हुने जर्मनी र कोस्टारिकाको खेलमा मुख्य रेफ्री फ्रापार्टलाइ सहायक रेफ्रीको रूपमा ब्राजिलकी निउजा ब्याक र मेक्सिकोकी करेन डियाजले सघाउँदै हुनुहुन्छ । अर्को सहायक रेफ्रीमा भने होण्डुरसका पुरुष रेफ्री सैद मार्टिनेज हुनुहुन्छ ।

फ्रापार्ट पुरुष विश्वकप फुटबल विश्वकै महत्त्वपूर्ण खेलकुद प्रतियोगिता भएकोले यसमा पाएको जिम्मेवारीलाई सही हिसाबले सदुपयोग गर्ने बताउनुभयो । ‘‘पुरुष विश्वकप महत्त्वपूर्ण खेलकुद प्रतियोगिता हो । फ्रान्स र युरोपमा म पहिलो महिला रेफ्री थिएँ । विश्वकपमा यस जिम्मेवारीलाई कसरी निभाउने भन्ने मलाई राम्रोसँग थाहा छ,’’ फ्रापार्टले भन्नुभयो । 

३८ वर्षीया फ्रापार्ट फिफाको अनुभवी रेफ्री हुनुहुन्छ । उहाँले यसअघि फ्रेन्च लिग वान र यूईएफए च्याम्पियनसिप लिग खेलाई सक्नुभएको छ । उहाँले यसअघि मेक्सिको र पोल्यान्ड बीचको खेलमा फोर्थ अफिसियलको भूमिका समेत निभाउनुभएको थियो ।

फ्रापार्ट कतार विश्वकपमा एकमात्र महिला रेफ्री भने होइन । उहाँसँगै जापानकी  यामासीता योसिमी र रुवान्डाकी  सलिमा मुकनसांगाले पनि कतारमा जारी विश्वकप खेलाउँदै हुनुहुन्छ । विश्व फुटबल महासङ्घ (फिफ) ले कतार विश्वकपका लागि यसपटक तीन महिला रेफ्री र चार सहायक महिला रेफ्री छनोट गरेको थियो । बीबीसी