बर्खे आलु उत्पादनमा वृद्धि

सन्तोष राउत

सोलुखुम्बु, असोज २७ गते ।  सोलुखुम्बुमा वर्षे आलु उत्पादनमा वृद्धि भएको छ ।  अघिल्ला सिजनमा भन्दा यो सिजनमा प्रतिहेक्टर एक टनले उत्पादनमा वृद्धि भएको हो ।  जिल्लामा एक हजार २२ हेक्टरमा वर्षे आलुको खेती गरिएको छ भने हिउँदे आलु एक सय २७ हेक्टरमा मात्र गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ ।  
अघिल्लो सिजनमा प्रतिहेक्टर करिब १५ टनका हिसाबले उत्पादन भए पनि पछिल्लो सिजनमा प्रतिहेक्टर १६ टनका दरले आलु उत्पादन भएको कार्यालयको भनाइ छ ।  मौसम अनुकूल हुनु आलु उत्पादन बढ्नुको मुख्य कारण भएको वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले बताउनुभयो ।  उहाँले कृषकको मेहनत, सिँचाइ र मल व्यवस्थापन पनि उत्पादन वृद्धिका कारण भएको बताउनुभयो ।
अधिकृत भण्डारीले खाद्यसुरक्षा समितिको बैठकले खाद्य सुरक्षालाई ध्यानमा राख्दै सोलुखुम्बुको प्रमुख खाद्यबालीका रूपमा आलुलाई सूचीकृत गरेको बताउनुभयो ।  पहिलेको तुलनामा आलु निर्यात बढेको र जिल्लाभित्र आलुको परिकारको प्रयोगमा कमी रहेको कार्यालयले बताएको छ ।  तराई तथा राजधानीसम्म सोलुको आलु निर्यात हुँदै आएको छ भने कतिपयले कोसेलीको रूपमा पनि आलु लाने गरेका छन् । poteto 
जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु उत्पादनमा वृद्धिका लागि साविकका तिङ्ला, केरुङ, टाप्टिङ र गोराखानीलाई आलु ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।  गत आर्थिक वर्षबाट कृषकलाई आलु उत्पादनमा परियोजनाले सहयोग गर्न थालेको हो ।  आलुको बिक्रीलाई व्यवस्थित गर्नका लागि केरुङको बाघखोरमा सडक छेउमै आलु बिक्री कक्षसमेत निर्माण गरिएको छ ।  ब्लक कार्यक्रम क्षेत्रका कृषकहरूबाट बिक्री कक्ष सञ्चालनका लागि समिति गठन गरेर विधिवत् सञ्चालनको तयारी थालिएको कृषि कार्यालयले जनाएको छ ।  जिल्लामा उत्पादन भएको आलुको ब्राण्ड निर्माण गरी बिक्री तथा निर्यात गर्ने गरी परियोजनाले काम थालेको हो ।  ब्राण्ड निर्माणका लागि समितिलाई लोगो अङ्कित २० केजी क्षमताको चार हजार बोरा, ढुवानी सहजताका लागि ट्याक्टर र जमिन जोत्नका लागि मिनिटिलर समेत हस्तान्तरण गरिसकिएको छ ।  
कृषि विकास कार्यालयका अनुसार तिहारलगत्तै आलु बिक्री कक्षको उद्घाटन गर्ने र निर्यातलाई व्यवस्थापन गर्ने तयारी गरिएको छ ।  दुईतले बिक्री कक्ष भवनमा तालिम हलको समेत व्यवस्था गरिएको छ ।  भवनको निर्माण कार्य गत साउनमा सम्पन्न गरिसकिएको हो ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना