• १६ चैत २०८०, शुक्रबार

पाँचथरमा एमालेका नेम्वाङ ४६ मत अन्तरले विजयी

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र पाएपछि पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ । तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, मंसिर १४ गते । पाँचथर जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राती १०:०० बजे प्रकाशन गरेको अन्तिम परिणाम अनुसार एमालेका वसन्तकुमार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

उहाँले नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्वेलाई ४६ मत अन्तरले पराजित गर्नुभयो । नेम्वाङले ३२ हजार एक सय ३५ मत प्राप्त गर्दा आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गर्नुभयो । यसअघि मंसिर ९ गते बिहान प्रत्यक्ष तर्फको मत गणना सकिँदा नेम्वाङ र आङदेम्वेबीचको 

मत अन्तर ४७ थियो । नेम्वाङको विजयमा नेकपा एमाले र उक्त दलका समर्थकले विजय ¥याली समेत निकालेका थिए । तर, समानुपानितक तर्फको मत गन्न थाल्दा पुनः प्रत्यक्षका मत पत्र भेटिन थालेपछि विवाद भएको थियो । त्यसपछि निर्वाचन कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गरिएको थिएन ।

समानुपातिकतर्फको गणना सक्दा एमालेको चुनाव चिन्हमा भोट दिइएका २५ र कांग्रेसलाइ दिइएका २६ वटा मतपत्र भेटिएपछि तिनलाई पनि जोडेर मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले अन्तिम परिणाम सार्वजनिक गर्नुएको हो । दाहालले नेम्वाङलाई मध्यरातमै प्रमाणपत्र पनि वितरण गर्नुभएको छ । 

पुर्व भौतिक पुर्वाधार तथा योजना मन्त्री रहेका नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी पाँचथर प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकिकृत समाजवादीका कमलप्रसाद जवेगु र (ख) मा इन्द्रवहादुर आङवो (मौसम) विजयी हुनुभएको छ ।