• १३ वैशाख २०८१, बिहिबार

अस्पताल कब्जा गरेको आरोप

blog

बोदेबर्साइन समाचारदाता 

बोदेबर्साइन, मङ्सिर १४ गते । सप्तरीको राजविराज–५ मा सञ्चालित १५ शय्याको अनार भूपेन्द्रनाथ निजी अस्पतालभित्र डाक्टर दीपा यादवले दुई महिनादेखि आफ्नो नामको बोर्ड राखेर जबरजस्ती बिरामी जाँच्दै आएको आरोप लागेको छ। 

डा. यादवले अस्पतालका ल्याब, एक्सरे मेसिन, औषधि पसलसमेतमा आफ्ना मान्छेहरू लगाएर नियन्त्रणमा लिएको र उल्टै आफूलाई दुव्र्यवहार गरेर अस्पताल छिर्न नदिएको सञ्चालक वीरेन्द्र यादवले जानकारी दिनुभयो।

डाक्टर दीपा कहिले सरुवाको विषयलाई लिएर कहिले सुत्केरी मारेको आरोपमा विवादमा तानिएको र बलजफ्ती अस्पताल नियन्त्रणमा लिएको डाक्टर वीरेन्द्रप्रसाद यादवले आरोप लगाउनुभयो। 

अहिले घरधनी अनिस अन्सारीले अनेक प्रकारले व्यावधान खडा गरेको सञ्चालक यादवको आरोप छ। बहाल सम्झौताअनुसार पाँच वर्षदेखि सेयरमा अस्पताल सञ्चालन गर्दै आएको उहाँको भनाइ छ। 

देवानी संहिता २०७४ को दफा २२ बमोजिम दुई पक्षबीच भएको घर बहाल सम्झौताअनुसार २०७४–२०८४ सम्म करारनामा छ। त्यसअनुसार एउटा व्यक्तिसँग भएको सम्झौताको म्याद नसकिँदै घरधनी अन्सारीले अर्को व्यक्तिसँग पनि सोही घरको सम्झौता गरेको पाइएको थियो। यसपछि उच्च अदालत जनकपुर राजविराजको इजलासले २०७९ कात्तिक २० गते वीरेन्द्र यादवकै नाममा रहेको सम्झौता सदर गर्दै अस्पताल सञ्चालनमा कुनै पक्षबाट अवरोध नगर्न नगराउन अन्तरिम आदेश जारी गरिएको छ। 

एक हप्तादेखि घरधनी अन्सारीले अस्पतालको बिजुली, पानीको लाइन काटेर बिरामीलाई समेत गम्भीर क्षति पुग्ने खालका बाधा पु-याउने गर्दै आएको अस्पतालका कर्मचारी संदीप यादवले सुनाउनुभयो। घरधनी अंसारीसँग यसबारे बुझ्दा म कुनै सम्झौता मान्दिन, मैले घर खाली गर्न भनिसकेको छु भन्दै बीचमै टेलिफोन काट्नुभएको थियो।

डाक्टर दीपाले २०७९ साउन १७ गते नै आफ्नो २५ लाख ५० हजारको सेयरसमेत डाक्टर वीरेन्द्र यादवलाई बेचेर अस्पतालबाट राजिनामा गरिसकेर गैरकानुनी कार्य गर्दै आएको डाक्टर वीरेन्द्रको आरोप छ। 

प्रहरीदेखि कानुुनी कारबाहीसम्मको प्रक्रिया गर्दा पनि डाक्टर दीपाको रबैया र गैरकानुुनी गतिविधि बढ्दै गएको उहाँको भनाइ छ।  डाक्टर दीपाले भने कानुनअनुसार अस्पतालमा केही नरहे पनि पाँच वर्षको हिसाब गर्न बाँकी रहेकोले यहाँ बस्दै आएको स्वीकार्नुभएको छ।