दक्षिण एसियाली मुलुकका महिला गणितज्ञको सम्मेलन सुरु

index_1

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २६ गते । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दक्षिण एसियाली मुलुकका महिला गणितज्ञको सम्मेलन सुरु भएको छ । यहाँस्थित कीर्तिपुरमा रहेको केन्द्रीय गणित विभागमा विहीवारदेखि सुरु भएको तीनदिने उक्त सम्मेलनमा १२ देशका ३९ जनाको कार्यपत्रमाथि ६० जनाले बहस गर्न कार्यक्रम रहेको छ ।
‘गणित विज्ञानमा नेपाली महिला’ नामक संस्था ड्यालगाउसिया विश्व विद्यालय र स्लिभिया बेगान्ड विश्व विद्यालयको आयोजनामा केन्द्रीय गणित विभाग र पद्मकन्या क्याम्पससँग समन्वय गरी उक्त सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलन उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले गणित विषय कठिन भन्ने आम धारणालाई सच्याउनका लागि सम्मेलन सफल हुने आशा गर्नुभयो । उहाँले राजनीति, न्याय सेवा र अर्थ क्षेत्रमा जस्तै गणित विषयमा महिलाको नेतृत्वको विकास गर्न आवश्यक भएको बताउनु भयो ।
त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी, केन्द्रीय गणित विभागका प्रमुख डा. केदारनाथ उप्रेती लगायतले सम्मेलनबाट प्राप्त हुने सुझावलाई सरकारको नीति तथा योजना निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक पद्मकन्या क्याम्पसका प्रा. धनकुमारी थापाले गणित विषयका विविध आयाम र समस्या समाधान गर्न सम्मेलन केन्द्रित भएको जानकारी गराउनु भयो । उहाँले गणितप्रतिको वितृष्णालाई अन्त्य गर्दै अन्तराष्ट्रिय रुपमा गणितको सञ्जाल निर्माण गर्ने र यससम्बन्धि अध्ययन अनुसन्धानमा टेवा पुग्ने बताउनु भयो ।
महेन्द्ररत्न क्याम्पसका अध्यापक तारा पौडेल, डा. निलम सुवेदीलगायतले गणित बहुआयामिक विषय भएको धारणा राख्नु भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds