• १३ वैशाख २०८१, बिहिबार

प्राध्यापक सुवेदीको नाममा पुरस्कार स्थापना

blog

प्राध्यापक सूर्यप्रसाद सुवेदी ।

लन्डन, मंसिर १४ गते । बेलायतको रोयल एसियाटिक सोसाइटीले प्रत्येक वर्ष नेपालबारे अंग्रेजीमा संसारमा जसले जहाँ सुकै पनि प्रकाशित गरेको कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्ने गरि प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा वार्षिक पुरस्कार स्थापना गरेको छ । 

रोयल सोसाइटीले लण्डनले बुधबार एक सुचना प्रकाशित गरि उक्त पुरस्कार सन् २०२३ देखि वार्षिक रुपमा प्रदान गरिने जनाएको छ । यसको साथै सोसाइटीले उक्त पुरस्कार विजेताबाट प्रत्येक वर्ष प्राध्यापक सुवेदीको नाममा एक प्राज्ञिक प्रवचन कार्यक्रमआयोजना गर्नेछ । 

प्राध्यापक सुवेदी नेपालको मात्र नभई बेलायतको प्राज्ञिक क्षेत्रमा समेत स्थापित नाम हो । लमजुङमा जन्मिनु भएका सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने सम्भवत: सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान सम्मान पाउने नेपाली हुनुहुन्छ । 

मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट सुवेदीले मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेल जस्ता विशिष्ट कानूनविदहरुलाई दिइने उच्च उपाधि प्राप्त गर्नुभएको थियो । मुलुकलाई महत्वपूर्ण योगदान दिए बापत उनले नेपालका राजा र राष्ट्रपति दुवैबाट उच्चस्तरका मानपदवी समेत पाउनुभएको छ । 

प्राध्याक सुवेदीका अक्सफोर्ड विश्वविद्यालयका झन्डै ३० वर्ष अघिका सहपाठी अमेरिकन नागरिक डा. जेम्स बुसुटिलले आफ्नै खर्चमा रोयल एसियाटिक सोसाइटीमा ‘प्राध्यापक सूर्यप्रसाद सुवेदी पुरस्कार’ स्थापना गर्नुभएको हो । सूर्यको नाम आउँदा कैयौं पुस्ताहरुसम्म जीवन्त रहोस् भन्ने उद्देश्यले यस पुरस्कारलाई स्थायी स्वरुप दिइएको बुसुटिलको भनाई छ । 

प्राध्यापक सुवेदीलेअन्तरर्राष्ट्रिय कानूनका प्राय: सबै आयामहरुमा १२ वटा विश्व स्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेखहरु संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गर्नुभएको छ । उहाँले नेपाल, बेलायत, चीन, नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस, कतारसहित विभिन्न देशहरुलाई कानूनी सल्लाह समेत दिँदै आउनुभएको छ ।