• ६ वैशाख २०८१, बिहिबार

बागमती सभ्यताको संरक्षण

blog

काठमाडौँ महानगरपालिकामा नयाँ राजनीतिक नेतृत्वसँगै अवैध निर्माणका कार्यलाई हटाउने कार्यले तीव्रता पाइरहेको छ । यसमा नेतृत्वले आमजनताबाट स्याबासी पनि पाइरहेको छ भने कतै चर्को विरोधको सामनासमेत गरिरहनु परेको यथार्थ हो । यस्तै सोमबार काठमाडौँ महानगरपालिकाको टोलीले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउन पसेपछि अप्रिय घटना हुन पुग्यो । स्थानीय सुकुम्बासी बस्तीका बासिन्दा डोजरसहित पुगेको कामपाको टोलीमाथि घरेलु हतियारसहित ढुङ्गामुढा गर्न नै पुग्यो । केही व्यक्ति घाइते पनि भए । स्थिति नियन्त्रणका खातिर नेपाल प्रहरीकै परिचालन गर्नुपर्ने अवस्थासमेत आइप(यो । वास्तवमा यो स्थिति दुःखद पक्ष हो । यस्तो अवस्था निम्तिनु दुर्भाग्यपूर्ण नै मान्नु पर्छ । 

मुलुकको राजधानी सहर तथा पहिलो महानगरपालिका काठमाडौँलाई हरतरहले सुन्दर पार्ने प्रयास गर्नु महानगरपालिकालगायतका निकायको जिम्मेवारी हो । यस कार्यमा सघाउ पु¥याउनु काठमाडौँबासीको कर्तव्य हो । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट महìवपूर्ण बागमती नदीको स्वच्छता तथा सरसफाइमा सबैले सक्दो सहयोग पु¥याउनु पर्ने पक्षमा शायदै कसैको दुई मत होला । यस अर्थमा काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्य तथा बागमती सभ्यताको संरक्षणमा उठाइरहेको कदमलाई काठमाडौँबासीले साथ दिनु औचित्यपूर्ण देखिन्छ । बीसौँ लाख मानिसको बसोबास रहने यो महानगरमा विभिन्नथरीका समस्याका थुप्रा छन् । ढल, खानेपानी, फोहोर, बाटाघाटा, सार्वजनिक यातायातजस्ता समस्याले महानगरबासीलाई आक्रान्त पारेको छ । 

नयाँ नेतृत्वसँगै यी समस्याको समाधानमा केही प्रयास हुने अपेक्षा गर्नु महानगरबासीका दृष्टिकोणबाट स्वाभाविकै मान्न सकिन्छ । काठमाडौँका सडकमा ढल फुटेर दुर्गन्धित हुने अवस्था, भ्वाङ तथा खाल्डाखुल्डी परेका सडक, धुँवा, धुलो तथा खानेपानीको सदाबहार समस्याबाट यो राजधानी सहर गुज्रिरहेको छ । यसैगरी लथालिङ्ग सार्वजनिक यातायात महानगरको अस्तव्यस्त स्थितिलाई चित्रण गर्न पर्याप्त छ । यस्तै अरू पनि थुप्रै समस्या छन्, जसले महानगरबासीको जीवनस्तरलाई प्रत्यक्ष रूपले प्रभावित गरिरहेका छन् । महानगरको नेतृत्वले आममहानगरबासी दिनहुँ गुज्रिनुपर्ने यस्ता समस्या समाधानका लागि समेत अग्रसरता देखाउनु जरुरी छ । यसका निम्ति रचनात्मक पक्षलाई महानगरले जोड दिनु वाञ्छनीय हुन्छ । सडक, बाटाका मर्मत, सार्वजनिक यातायातको उपयुक्त व्यवस्थापन, खानेपानीको समस्या समाधानका उपाय हुनसक्छन् । फलतः महानगरबासीले आफ्ना मूलभूत समस्या सम्बोधन भएको महसुस गर्न सक्नेछन् । महानगरले भत्काउने, फुटाउने, कार्यलाई मात्र प्रश्रय दिँदा आममहानगरबासीका अन्य समस्या ओझेलमा परेको हो कि भन्ने प्रतीत हुनु अस्वााभाविक होइन । यसतर्फ महानगर नेतृत्वको ध्यानाकर्षण हुनु उपयुक्त छ । 

मौसम जाडोको छ । सुकुम्बासी बस्तीका बालक, वृद्ध तथा रोगीहरूका समस्याबारे कसैले पनि बेवास्ता गर्नु हुँदैन । यस मौसममा बिना कुनै विकल्प वर्षौंदेखि बसोबास गरिरहेकालाई आश्रयस्थलबाट हटाउनुलाई जायज मान्न सकिँदैन । यो समेत कठोर वास्तविकता हो । बागमती नदीको पचासौँ किलोमिटर क्षेत्र सुकुम्बासीबाट अतिक्रमित भइरहेका छन् र यसबाट बागमती नदी सभ्यतामा नै प्रतिकूल प्रभाव परिरहेको झन् यथार्थ हो । वर्षांैदेखि उब्जेको समस्या हो । बागमती नदी सभ्यताको संरक्षण गर्नुपर्ने दायित्वमा बहाना पनि चल्दैन । यस अवस्थामा उपयुक्त समन्वयसहित नदी सभ्यताको संरक्षण र सुकुम्बासी समस्या समाधान निष्कर्ष निकालिनु उपयुक्त हुन्छ । उचित विकल्पसहित बसोबासीलाई स्थानान्तरण गर्नुपर्छ र त्यसका निम्ति समय लाग्न सक्छ । 

तत्कालीन सरकारी निकायको अदूरदर्शिता तथा असक्षमताका कारण बागमती नदी सुकुम्बासी बस्तीमा रूपान्तरण भएको हो । त्यतिबेला नै नदी किनारामा बस्ती बसाउन नदिइएको भए आज यो अवस्था पक्कै पनि सिर्जना हुने थिएन होला । बस्तीबाट हटाउन डोजर लग्नुअघि बस्तीका बासिन्दा तथा महानगरबीच टेबुल वार्ता हुन सकेको भए मुडभेडको स्थितिलाई टाल्न सकिन्थ्यो । सबै विषयमा नियम, कानुन मात्र नभई मानवीय तथा व्यावहारिक पक्षलाई समेत मनन गरिनु नेतृत्वको कुशलता परीक्षणसमेत हो । काठमाडाँै महानगरले महानगरबासीद्वारा भोग्नुपरिरहेका दैनिक समस्याको रचनात्मक समाधानतर्फ समेत ध्यान दिनुपर्छ । सार्वजनिक जग्गा, जमिन ओगटेर निर्माण भएका भौतिक संरचना हटाउने कार्यलाई प्राथमिकता दिँदा सिर्जना र पुनर्निर्माणलाई समेत ध्यान दिनुर्छ । भत्काउनु मात्र समाधान होइन । महानगर तथा बागमतीलगायतका नदीको स्वच्छता तथा सुन्दरताका निम्ति महानगरपालिकाद्वारा गरिने कार्य तत्कालको आवेग होइन, दीर्घकालीन योजना र जनमैत्री हुनु वाञ्छनीय छ ।