• ८ वैशाख २०८१, शनिबार

तालिम रकममा छैन आकर्षण

blog

काठमाडौँ, मङ्सिर १४ गते । वैदेशिक रोजगारीमा जान चाहने महिलालाई सीपमूलक तालिममा आकर्षित गर्ने उद्देश्यले सरकारले उपलब्ध गराइरहेको रकमप्रति आकर्षण कम हुने गरेको छ । अभिमुखीकरण तालिम लिएबापत प्राप्त गर्ने रकम थोरै भएको र लिने प्रक्रियामा पनि झन्झटिलो भएकाले उक्त रकमप्रति महिलाको आकर्षण नभएको हो । 

सरकारले वैदेशिक रोजगारीमा जानका लागि मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट १२ घण्टाको अभिमुखीकरण तालिम अनिवार्य गरेको छ । तालिम महिला र पुरुष दुवैले लिनुपर्छ तर यसप्रति महिलालाई आकर्षण गर्ने उद्देश्यले सात सय रुपियाँ दिने गरिएको छ । 

अभिमुखीकरण तालिम लिएका महिलाले तालिमको प्रमाणपत्रसहित वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएपछि मात्रै प्रतिव्यक्ति सात सय रुपियाँ प्राप्त गर्ने व्यवस्था छ । बोर्डका अनुसार पछिल्लो चार आर्थिक वर्षमा दुई हजार ८०८ महिलाले मात्रै अभिमुखीकरणबापतको रकम लिएका छन् । जब कि यो अवधिमा ९७ हजार २३१ महिला श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । 

बोर्डका अनुसार चार वर्षको अवधिमा दुई हजार ८०८ जनाले तालिम लिएबापत ११ लाख ६५ हजार छ सय रुपियाँ शोधभर्ना भएको छ । चार आर्थिक वर्षमा ९७ हजार २३१ महिलाले श्रम स्वीकृतिका अभिमुखीकरण लिएबापत बोर्डबाट रकम लिएको अवस्थामा छ करोड ८० लाख ६१ हजार सात सय रुपियाँ शोधभर्ना गर्नुपर्नेमा जम्मा ११ लाख ६५ हजार छ सय रुपियाँ मात्रै शोधभर्ना भएको छ । सो अवधिमा अभिमुखीकरण तालिम लिई श्रम स्वीकृति लिएर विदेशिएकामध्ये ९४ हजार ४२३ महिलाले अभिमुखीकरणबापत प्राप्त गर्ने ६ करोड ६८ लाख ९६ हजार एक सय रुपियाँ रकम लिन नआएको बोर्डले जनाएको छ । 

वैदेशिक रोजगारका वरिष्ठ अधिवक्ता सोम लुइँटेलले अभिमुखीकरणबापत बोर्डले महिलालाई उपलब्ध गराउने रकम असाध्यै थोरै भएको र लिने प्रक्रिया पनि झन्झटिलो भएकाले रकमप्रति आकर्षण नभएको बताउनुभयो । अभिमुखीकरण तालिमबापत महिलाले प्राप्त गर्ने रकमप्रति आकर्षित गर्न रकम वृद्धि गर्ने र अर्को लिने प्रक्रियालाई सहज गराउने व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “बोर्डले दिने सात सय रुपियाँ लिन आउँदा त्योभन्दा बढी खर्च गर्नुपर्ने र लिने प्रक्रिया पनि असाध्यै झन्झटिलो छ,” उहाँले भन्नुभयो । रकमप्रति महिलालाई आकर्षित गर्न अभिमुखीकरण तालिम प्राप्त गरेकै संस्थाबाट रकम उपलब्ध गराउने र त्यसबापत तालिम प्रदायक संस्थाले शोधभर्ना बोर्डबाट लिने व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । 

बोर्डका प्रवक्ता मैया कँडेलले अभिमुखीकरण लिएबापत महिलालाई दिइने रकम थोरै भएकाले आकर्षण नभएको बताउनुभयो । उक्त रकममा आकर्षण गराउन अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि परिवर्तन गरेर रकम दुई हजार रुपियाँ पु-याउने गरी बोर्डले प्रस्ताव अघि बढाएको जानकारी उहाँले दिनुभयो ।