• १३ वैशाख २०८१, बिहिबार

लयमा फर्किए व्यायामशाला

blog

नवराज कट्टेल

विराटनगर, मङ्सिर १४ गते । दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरू कोरोना कालमा थला परे। कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरू जिम छिर्न छोडेका थिए। कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर अब भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन्। 

फिटनेस सेन्टरहरूको मुख्य याम फागुनदेखि सुरु भएर कात्तिकमा सकिन्छ तर विराटनगरमा भने अहिले जाडो मौसममा पनि चलिरहेको छ। कोरोनाले थलिन बाध्य बनाएका फिटनेस सेन्टर त्यसैको ज्ञानले भरिदिएको ऊर्जाका कारण जाडो मौसममा पनि उत्तिकै चल्ने अवस्थामा पुगेको सञ्चालकहरूको बुझाइ छ। 

कोरोना सङ्क्रमणको समयमा शरीरलाई तन्दुरुस्त राख्नुपर्ने र दैनिक व्यायाम गर्नुपर्ने मान्यता स्थापित भएको थियो। विराटनगर–४ स्थित सजिलो फिटनेस एन्ड जिम सेन्टरका सञ्चालक सञ्जय साहका अनुसार कोरोना लागेपछि पनि व्यायाम गर्नुपर्छ, योग गर्नुपर्छ भन्ने ज्ञानले अहिले जिम सेन्टरहरूलाई राहत मिलेको हो। 

कोरोनाको जोखिम घट्दै गएपछि अनिवार्य मर्निङवाक, योग, जिम गर्नुपर्ने मान्यता स्थापित भएको छ, सञ्चालक साहले भन्नुभयो। “अहिले ‘सिजन’ नहुँदासमेत सेवा लिनेहरूको सङ्ख्या उत्तिकै छ। उहाँले कोरोनाको बेला थला परे पनि पछिल्लो समय फिटनेस सेन्टरका लगानीकर्तामा निराशा सिर्जना गराउने अवस्था छैन तर लगानीअनुसारको प्रतिफल लिन भने अहिले पनि सकिएको छैन। 

व्यायामशाला धाउनेहरू पनि धेरै प्रकारका छन्। मोरङ बडिबिल्डिङ सङ्घका महासचिव नविनविक्रम शाहीका अनुसार स्वास्थ्य सेवाका रूपमा खुलेका फिटनेस सेन्टरमा दुव्र्यसनबाट मुक्त हुने, शरीरलाई खँदिलो र तन्दुरुस्त राख्न चाहने, फेसनेवल देखिन चाहने र रोगबाट ग्रसित भएकाहरू पुग्ने गर्दछन्। मधुमेह, रक्तचापको समस्या भएकाहरूले पछिल्लो समय व्यायामशालालाई रोजाईको क्षेत्र बनाउँदै लगेका छन्। कोहीकोही त विवाह गर्ने उमेर भएकोले तन्दुरुस्त देखिन पनि फिटनेस सेन्टरमा पुग्ने गरेको दाबी महासचिव शाहीको छ। 

बडिबिल्डिङ सङ्घ मोरङको तथ्याङ्कअनुसार अहिले २५ वटा फिटनेस सेन्टर मोरङमा सञ्चालित छन्। त्यसमध्ये विराटनगरमा मात्रै २० वटा फिटनेस सेन्टरमा लगानी गरेर सञ्चालित छन्। 

एउटा पूर्ण फिटनेस सेन्टर हुनका लागि पाँच करोड रुपियाँसम्म लगानी गर्नुपर्ने हुन्छ। मोरङमा ५० लाखदेखि पाँच करोडसम्मको लगानीमा खुलेका फिटनेस सेन्टरमा एक अर्बको लगानी भएको छ। लगानीको प्रतिफल खुम्चिएर ऋणको बोझमा परेका सञ्चालक पछिल्लो समयमा उत्साह बढाएको बताउँछन्। 

फिटनेस सेन्टरहरूले फरक–फरक तरिका अपनाएर सेवा प्रदान गर्ने गर्दछन्। कुनैले शरीरले भार उचाल्ने क्षमता बढाउने त कुनैले शरीरलाई आवश्यक पर्ने शारीरिक व्यायायसँगै भार उचाल्ने क्षमता बढाउने किसिमको प्रशिक्षण दिने गरेका छन्। सजिलो फिटनेस एन्ड जिमका सञ्चालक कम्प्लिट जिमखानाभित्र योगा, कार्डियो प्रशिक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र त्यसपछि मात्रै मेसिन र उपकरणमा अभ्यास गराउनुपर्ने बताउनुहुन्छ।