• १५ चैत २०८०, बिहिबार

किनार ‘कब्जा’, साँघुरिँदै बाग्मती

विकल्प खोज्छन् सुकुम्बासी

blog

राजधानीको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजरसहित बल प्रयोग भएको भन्दै मङ्गलबार काठमाडौँ महानगरपालिकाको विरोधमा सुकुम्बासी । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, मङ्सिर १४ गते । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दा मङ्गलबार बिहानैदेखि आफ्ना सरसामान पोको पारेर बसे। केही सुकुम्बासी अगुवाले भने, “विकल्पबिनाको जबर्जस्ती उठीबासविरुद्ध खबरदारी” लेखिएको ब्यानरसहित प्रदर्शन गर्दै काठमाडौँ महानगरपालिका र महानगरप्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी सुरु गरे। 

यो पनि पढ्नुहोस

विकल्पमा जाँदैनन्

बिहान ७ बजे नै उपत्यकाका विभिन्न स्थानबाट सुकुम्बासी र सम्बन्धित सरोकारवाला भेला भएका थिए। सोमबार दिनभरि तनावग्रस्त बनेको थापाथलीको सुकुम्बासी बस्तीमा मङ्गलबार त्रासदपूर्ण वातावरण देखिन्थ्यो। काठमाडौँ महानगर–११ स्थित थापाथलीमा १४३ घरधुरीको बसोबास रहेको छ। २०६० सालयता बाग्मती किनारलाई आफ्नो थातथलो बनाएर बसेका सुकुम्बासी ‘राम्रो विकल्प’ नदिएसम्म एक पाइला पनि नसार्ने पक्षमा छन् तर उनीहरूकै लागि भनेर बनाइएको ‘अपार्टमेन्ट’ भने बस्ने मान्छे नपाएर जीर्ण बन्दै गएको छ।

यो पनि पढ्नुहोस

बागमती किनारका बस्ती हटाउँदा तनाव

बाग्मती नदी अतिक्रमणको विषयमा बोल्न नचाहने सुकुम्बासी अगुवा ‘आफ्नो हक’का पक्षमा मात्रै बोलिरहँदा यो समस्या झनै पेचिलो भएको हो। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका संस्थापक सल्लाहकार हुकुमबहादुर लामाका अनुसार थापाथलीस्थित बाग्मती किनारमा १८ वर्षदेखि सुकुम्बासीको बसोबास छ। उहाँले भन्नुभयो, “पहुँचवालाले आसपासका क्षेत्रमा लालपुर्जा लिए। अहिले त्यहाँ महलै बनेका छन्। उच्च निकाय र राजनीतिक पहुँच नहुनेहरू भने अहिले पनि छाप्रोमै छन्।”

तत्कालीन नेकपा (माओवादी)को जनयुद्धका क्रममा पनि सुकुम्बासी बस्तीमा घरधुरी थपिए। अन्ततः बाग्मती साँघुरिँदै गयो। अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं इन्जिनियर कमल अर्यालले भन्नुभयो, “बाग्मती नदीको बहाव क्षेत्र थापाथली–कुपण्डोल जोड्ने पुललाई हेरे पुग्छ। अहिले बाग्मती नदी किनार दुवैतिरबाट अतिक्रमित छ तर हटाउन सम्भव भइरहेको छैन।”

ठाउँ–ठाउँमा अतिक्रमण

काठमाडौँ महानगरपालिका वडा–९ स्थित सिनामङ्गल, गैरीगाउँ र महानगरकै–३१ नं. वडाको शान्तिनगरमा सुकुम्बासी बस्ती छ। अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार सिनामङ्गल र गैरीगाउँ क्षेत्रमा १६२ र शान्तिनगरमा ४७६ घरधुरीको बसोबास छ तर स्थानीयवासीसँग जग्गाको लालपुर्जा छैन। वि.सं. २०५० देखि बसोबास गर्ने स्थानीयवासी आफूलाई सुकुम्बासी बताउँछन्। दुवै स्थानको बस्ती बाग्मती नदी किनारमा अवस्थित छन्। बाग्मती नदी किनारमा बस्ती बसेपछि वर्षाको बहाव बस्तीतिरै सोझिन्छ तर दीर्घकालीन समाधान निकाल्ने काम केवल ‘कोसिस’मै सीमित छ । 

समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले बाग्मती नदी किनारस्थित सुकुम्बासी बस्तीका घरधुरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बाग्मती नदी अतिक्रमण भएको छ। यसको दीर्घकालीन समाधानबारे अध्ययन भइरहेको छ। अहिले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ। अब कसरी काम गर्ने भन्ने विषयमा योजना बन्छ।”

काठमाडौँमै २० ठाउँमा अतिक्रमण

काठमाडौँ, ललितपुर र भक्तपुरका २७ वटा वडामा नदी र खोला किनार अतिक्रमण भएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ। इन्जिनियर अर्यालले बाग्मती नदी किनारमा मात्रै छ स्थानमा अतिक्रमण भएको बताउनुभयो। उहाँले काठमाडौँ महानगर–१०, शङ्खमूलमा १५० घरधुरी, वडा–११ मा पर्ने थापाथलीमा १४३ घरधुरी, वंशीघाटमा १९३ घरधुरी र वडा नं. १४ स्थित बल्खु जागरण मार्गमा ४०१ घरधुरी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “काठमाडौँ, ललितपुर र भक्तपुरमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा खोला किनारमा बसोबास गर्ने गरेको प्रारम्भिक तथ्याङ्कमा आएको छ। थप अध्ययनपछि औपचारिक तथ्याङ्क आउने नै छ।” काठमाडौँभित्र बग्ने बाग्मती नदी मात्रै होइन, अरू खोलाहरू पनि अतिक्रमणमा परेका छन्। 

काठमाडौँ महानगरपालिका–१० मा पर्ने देवीनगरमा ४० र शान्ति विनायकमा ३६, वडा नं. ४ स्थित धुम्बाराहीमा ६ र बालुवाटारमा १४, वडा नं. २९ स्थित अनामनगरमा २३ र वडा नं. ३२ स्थित जडीबुटी–मिलनचोकमा ११४ घरधुरी खोला अतिक्रमण गरी बसेका छन्। 

इन्जिनियर अर्यालले वडा नं. १६ जागृति मार्गमा १२३ र बुद्धज्योतिमा ७५ घरधुरी, वडा नं. २ ढिकुरेमा १९ र वडा नं. १५ स्वयम्भूमा ४६ घरधुरी रहेको बताउनुभयो। त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोकमा ७७ र वडा नं. ९ स्थित कागेश्वरी मनोहरा टोलमा १३ घरधुरी, बूढानीलकण्ठ नगरपालिका–१०, पाथीभरामा १४२ र वडा नं. १२ कपनमा १४ घरधुरी रहेको उहाँले बताउनुभयो। 

डोजर नचलाउनू : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिनुभएको छ। बालकोटस्थित निवासमा सुकुम्बासी अगुवासँग मङ्गलबार साँझ भएको भेटमा उहाँले महानगर प्रमुख बालेन्द्र शाहको बाग्मती नदी किनार अतिक्रमण गरी बसेका सुकुम्बासीलाई बलपूर्वक हटाउने कार्यको विरोध गर्नुभएको हो। 

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परिश्रमीको नेतृत्वको टोलीसँग कुरा गर्दै अध्यक्ष ओलीले डोजर चलाएर सुकुम्बासी समस्या समाधान नहुने बताउनुभयो। भेटमा सहभागी मोर्चाका संस्थापक सल्लाहकार हुकुमबहादुर लामाले भन्नुभयो, “अध्यक्ष ओलीले बालेनजीको कार्यशैली ठीक छैन, म सुकुम्बासीको पक्षमा छु, डोजर चलाएर समस्याको समाधान हुँदैन, भन्नुभयो।” सल्लाहकार लामाका अनुसार ओलीले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले थापाथलीमा सुकुम्बासी बस्ती हटाउन खोज्दा आफूले विरोध गरेको स्मरण गर्नुभयो। भेटमा मोर्चाका सल्लाहकार इन्द्र लामा र पदम सिजापति तथा सुकुम्बासी अगुवा विमला लामा पनि सहभागी हुनुहुन्थ्यो।

 कुचेष्टा नगरियोस् : बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बाग्मती किनारका सुकुम्बासी हटाउने कार्यमा सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ।  सुकुम्बासीलाई नहटाउन ओलीले दिएको चेतावनीपछि सामाजिक सञ्जालमा जवाफ लेख्दै प्रमुख शाहले ‘सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न’ चेतावनी दिनुभएको हो।

उहाँले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्बासी समस्या समाधान गर्न नसकेको, मन्त्री र पटक–पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुँदा पनि सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको बरु सुकुम्बासीहरू भोट बैङ्क मात्रै रहेको स्मरण गराउनुभएको छ । तिनलाई राजनीतिक स्वार्थवश गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थविपरीतका कुरामा प्रयोग गरेको आरोप लगाउँदै प्रमुख शाहले भन्नुभएको छ, “तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन।”