• १४ वैशाख २०८१, शुक्रबार

बागमती प्रदेश सभामा प्रत्यक्ष निर्वाचनमा प्रमुख दल हाबी

blog

हेटौँडा समाचारदाता

हेटौँडा, मङ्सिर १४ गते । प्रदेश सभा सदस्य पहिलो पटक २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस दोस्रो प्रदेश सभा सदस्य निर्वाचनपछि पहिलो बनेको छ। 

११० सदस्यीय रहेको बागमती प्रदेश सभामा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट ६६ जनाले प्रतिनिधि गर्ने संवैधानिक व्यवस्थाअनुसार यस पटकको निर्वाचनबाट कांग्रेसका सबैभन्दा धेरै उम्मेदवार विजयी भएर ठूलो दल बनेको हो। ४४ जना प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था रहेको छ।

गत आइतबार भएको पहिलो आवधिक निर्वाचनमा प्रदेश सभा सदस्यका लागि १४ दलबाट र स्वतन्त्र गरी ८० महिलासहित ६६८ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेकोमा हालसम्म सात दलका मात्र उम्मेदवार प्रत्यक्ष प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल भएका छन्। 

६४ प्रदेश सभा निर्वाचन क्षेत्रको हालसम्म सार्वजनिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार सबैभन्दा बढी २४ क्षेत्रमा विजयी भएका छन्। बागमती प्रदेशको १३ जिल्लाका ६६ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये दोलखा जिल्लामा धाँधली भएको भन्दै उजुरी परेपछि १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय गरेकोले दोलखाको दुई प्रदेश सभा क्षेत्रको मतपरिणाम पछि आउने भएको छ।

चुनावमा गठबन्धन गरेको कांग्रेसले प्रदेश सभा सदस्यमा पाँच महिलासहित ४२ उम्मेदवार बनाएको थियो। दुई महिलासहित २४ जना उम्मेदवार बनाएको नेकपा (माओवादी केन्द्र)का १४ र एक महिलासहित १२ जना उम्मेदवार बनाएको नेकपा (एकीकृत समाजवादी)का पाँच जना उम्मेदवार विजयी भएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपासँग प्रदेशका केही जिल्लामा तालमेल गरी एक महिलासहित ६५ जना उम्मेदवार बनाएको एमालेबाट १३ जनाले जितेका छन्। पाँच महिलासहित ६५ जना उम्मेदवार बनाएको राप्रपाका छ, १४ महिलासहित ५८ जना उम्मेदवार उठाएको नेपाल मजदुर किसान पार्टी र २२ जना उम्मेदवार उठाएको हाम्रो नेपाली पार्टीका एक/एक जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। 

२०७४ को निर्वाचनमा प्रत्यक्षबाट एमालेले ४२, माओवादी केन्द्रले १५, कांग्रेसले सात, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टीले एक÷एक जना प्रदेश सभा निर्वाचनमा जितेको थियो। 

एमालेबाट भक्तपुर प्रतिनिधि सभा क्षेत्र नं. १ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन हुँदा भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भडेल निर्वाचित भएपछि कांग्रेसको आठ सिट पुगेको थियो। यस्तै एमालेबाट निर्वाचित भएकामध्ये केही प्रदेश सभा सदस्यले एमाले विभाजित भएसँगै बनेको नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको थियो। एमाले विभाजित हुँदा समेत यसअघिको प्रदेश सभामा सबैभन्दा ठूलो दल एमाले नै थियो।

प्रत्यक्ष र समानुपातिकबाट समानुपातिकतर्फको हालसम्म भएको मतगणनाअनुसार सबैभन्दा बढी एमालेले, दोस्रो कांग्रेसले, तेस्रो स्थानमा राप्रपा र त्यसपछि माओवादी केन्द्रले मत पाएको छ।

समानुपातिक मतका आधारमा समानुपातिक निर्वाचन प्रणालीबाट पाउने समानुपातिकतर्फको सिट सबैभन्दा बढी एमालेले पाए पनि अब गठन हुने बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी केन्द्र हुने भएका छन्।