वाम एकताको आन्तरिक र बाह्य चुनौती

milan kanchha kiratiमिलनकान्छा किराती

 

विश्वको ध्यान यतिखेर नेपालकेन्द्रित हँुदैछ । वामपन्थी गठजोडले नयाँ पोलिटिकल डिस्कोर्स शुरु भएको छ । अनेक कोणबाट चर्चा, परिचर्चा र अड्कलबाजी भइरहेका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीले आसन्न चुनावी तालमेल, वृहत् ध्रुवीकरण हँुदै अन्ततः एकताको गन्तव्य तय गर्नुले राजनीतिक बजार तातेको छ । व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्नसके वाम नेतृत्वको यो कदम नेपाली राजनीतिक इतिहासमा निकै महìवपूर्ण साबित हुनेछ ।
पार्टी एकता प्रक्रिया सैद्धान्तिक रूपमा जति सहज र सरल छ, त्यति नै साङ्गठनिक रूपमा यसका कठिनाइ र जटिलताहरू छन् । यस्ता समस्यालाई चिर्नको लागि सबैभन्दा पहिला राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राख्न सक्नु पर्दछ । साम्यवादी शक्तिहरू स्वाभावैले जनवादी केन्द्रीयतामा विश्वास गर्दछन् । साङ्गठनिक वरियता क्रम र तहगत संरचनालाई प्राथमिकता साथ हेर्दछन् । माक्र्सवादी दर्शन र लेनिनवादी साङ्गठनिक पद्धतिको जडसूत्रीय सार–सङ्ग्रहवादी सोच नै हालसम्म कम्युनिष्ट टुटफुट र विभाजनको मुख्य कारण बनेका छन् । तसर्थ माक्र्सवादलाई युगसापेक्ष लोकतन्त्रीकरण गर्दै नेपाली माटो र हावापानीको विशिष्टता पहिल्याउन सक्नु पर्दछ । नत्र एकीकरणले अर्कै दिशा तय गर्ने कुरामा दुईमत हुनेछैन ।
नेपाली राजनीतिमा वाम एकताले मूर्त रूप लिनसके विशेषतः लेफ्ट डेमोक्रेटिक र फ्रन्ट कन्जरभेटिभ दुई पक्षीय संरचना बन्न पुग्दछ । लेफ्ट डेमोक्रेटिक कम्युनिष्टहरू हुन्छन् । फ्रन्ट कन्जरभेटिभ काङ्ग्रेसहरूको भूमिका रहन्छ । यस्तो समीकरणले वर्तमान राजनैतिक गतिरोधको अन्त्य गर्दै आदर्शयुक्त राजनीतिक संस्कारको विकास हुन पुग्दछ । त्यतिखेर, अहिले देखिएको अत्यासलाग्दो राजनीतिको फोहर स्वतः सफा भएर जानेछ । पछिल्लो पिँढीका आम युवाको राजनीतिप्रतिको वितृष्णा र निराशा आशामा परिणत हुनेछ । उनीहरू विस्तारै राजनीतितर्फ आकर्षित हुनेछन् । आम युवाको उपस्थिति र सहभागितामा देशभित्र राजनीतिक मात्रै होइन, विकासको पनि नयाँ बाटो पनि सुरुआत हुनेछ ।
देशको लागि तत्कालीन र दीर्घकालीन फाइदै–फाइदा रहेको यस ध्रुवीकरण अभियानको मर्मलाई हृदयङ्गम गर्दै वामपन्थी पक्षले फ्रन्ट लोकतान्त्रिक शक्तिहरूको गठजोड प्रक्रियाको थालनी स्वागतयोग्य रूपमा लिनु पर्दछ । यसरी नै लोकतान्त्रिक पक्षले वाम एकताको पक्षलाई शिष्टाचारयुक्त व्यवहार गर्नु पर्दछ । यसले सुसंस्कृत राजनीतिक जग बसाउनेछ । साथै थप दूरी बढाउँदै दुई धु्रवीय विशेषता छर्लङ्ग बनाउन मद्दत पु¥याउनेछ । दुवै पक्षलाई एकता प्रक्रिया मूर्त रूप दिन चर्को दबाब सिर्जना गर्नेछ । यसले नेपाल र नेपाली जनताको उज्ज्वल भविष्य सुनिश्चित गर्न मार्ग प्रशस्त गर्न सक्दछ ।
वाम एकताको इतिहास धेरै टाढा नगएर २०४७ सालमा निर्मित वाममोर्चा विभाजनलाई मात्रै हेर्ने हो भने पनि वाम एकीकरणको आन्तरिक र बाह्य चुनौती सतहमा आउनेछन् । एकता प्रक्रियाको चित्र समयान्तर केही फरक देखिए पनि सैद्धान्तिक र साङ्गठनिक चरित्र उस्तै रहेका कारण फेरि पनि विभाजनको दिशा अँगाल्न सक्दैन भन्न कठिन छ । यसतर्फ नेतृत्व चनाखो मात्रै होइन, दलीय स्वार्थसमेत पूरै त्याग्न जरुरी छ । आधुनिक विकसित माक्र्सवादी कोणबाटै हेर्ने हो भने पनि यो प्रक्रिया केही सत्य हो, केही असत्य हो । केही अर्थपूर्ण छ, केही बेअर्थपूर्ण छ । केही सफल हुनसक्छ, केही विफल हुनसक्छ । तर, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर दसचोटी नाप्ने र एकचोटी काट्ने सिद्धान्तलाई बिर्सने हो भने किन सैद्धान्तिक रटान लगाइराख्नु प¥यो ? त्यसो होइन भने यसलाई हतारको निर्णयको रूपमा लिइनु हुँदैन । यसको पहलकदमी विगतबाटै सुस्त गतिमा अमूर्त रूपमा सुझबुझका साथ भइरहेको मान्नु पर्दछ ।
नेतृत्वले कार्यक्रम ल्याउँछ । कार्यकर्ताले कार्यन्वयन गर्नुपर्दछ । हरेक विषयले मूर्त रूप पाउने वा नपाउने भन्ने कुरा कार्यन्वायनमा गएर असर देखिन्छ । यसकारण, कार्यन्वयन तह सबैभन्दा बढी जिम्मेवार र सकरात्मक हुन जरुरी छ । यसका लागि वैचारिक, सैद्धान्तिक र साङ्गठनिक ज्ञान र चेतनाको स्तर उच्च हुनुपर्दछ । भाग्यवादी र नश्लवादी चेतभन्दा माथि उठ्न नसकेका केही डाइनोसरहरू जहाँ पनि घस्रिरहेका हुन्छन् । उनीहरूको लोप अवश्यंभावी भए पनि बाँचिरहेका समय दिग्भ्रमित र भयङ्करजस्तो देखिन्छ । यस किसिमको विशेषतालाई प्राथमिकताबाट हटाउँदै अघि बढ्नु नै वैज्ञानिक हुन्छ । मेरो स्थान र स्थिति के हुन्छ भन्दा पनि हाम्रो देशको स्थिति के हुन्छ ? भन्ने सबैले मनन गर्न सक्नु पर्दछ । कतिपय अवस्थाहरूमा कठोर बन्नुपर्ने हुन्छ । त्यसो हुन नसके निर्णायक परिणाम आउन सम्भव हुँदैन । यस सन्दर्भमा वर्गीय दृष्टिकोणबाट सामाजिक न्याय र समानताको वकालत गर्ने अभियन्ताहरूले परिणाम निकाल्ने अवस्था आए नआएको छुट्टयाउन सक्नु पर्दछ ।
विश्व भू–मण्डलीकृत पुँजी बजारको उच्च प्रयोगवादी क्रान्तिले सञ्चार र प्रविधिमार्फत पूर्वीय वैचारिक, सांस्कृतिक तटहरूमा अनेक आँधी, सुनामीहरू ल्याइसकेका छन् । यसले विनाश मात्रै निम्त्याएको छैन । विकासको भ्रूण उमार्दै नयाँ सभ्यताको जग हाल्न खोजिरहेको देखिन्छ । यसले सबैखाले पहिचानको प्लटिङहरू नष्ट पार्दै सिङ्गो सांस्कृतिक साम्राज्य निर्माण गर्न अग्रसर रहेको छर्लङ्गै देखिन्छ । यसर्थ, हामीले आन्तरिक सङ्घर्षमा समय सातुको भाउमा गुजारिरहँदा सुनको भाउ गुमाइरहनेछौँ । जहिले पनि परिणाम निकाल्न केन्द्रित एकोहोरो सोच घातक हुन्छ । दायाँ–बायाँ र विश्व नियाल्दै अघि बढ्नु आजको आवश्यकता हो । विश्वका महारथि मुलुकहरूले आफू र आफ्नाहरूलाई बिर्सेर अन्य मुलुकहरूसँग प्रत्येक सेकेण्ड–सेकेण्ड प्रतिस्पर्धा गरिरहेका छन् । यसको अन्तर्यमा हेर्ने हो भने आफू जित्न यसो गरिरहेका छैनन् । आफ्नो स्थान यथावत राख्न लडिरहेका छन् । हामीले सेकेण्डको गतिमा उभिएर प्रतिस्पर्धा गर्नु त परकै कुरा भयो । आफ्नो स्थान कायम राख्ने त्यस सन्दर्भ थाहा पाउन मात्रै दशकौँ लाग्नेछ । यही नै हाम्रो दुर्भाग्य र पछ्यौटेपन हो ।
विश्वको विकासशील समयले यसरी तीव्र वेग गतिमा हाम्रो मुलुकलाई छोडिरहेको अवस्थामा दुर्भाग्यवश नेपाली राजनीतिमै गतिरोध भएको चेत यदि खुल्ने हो भने नागरिकलाई त्यो भन्दा ठूलो पीडा अर्को कुनै पीडा हुन सक्दैन । देशको हितलाई केन्द्रबिन्दुमा राख्ने हो भने शक्तिकेन्द्रका हरेक किसिमका प्रलोभन र गलत सल्लाहबाट प्रभावित हुनु हँुदैन । आन्तरिक मामलामा जहिल्यै पनि बाह्य शक्तिकेन्द्रको हस्तक्षेपका कारण आन्तरिक राष्ट्रियता कमजोर हुने र भइसकेका सहमति र बन्न लागेका कामहरू पनि भताभुङ्ग भएर जाने गरेका अप्रिय तीता क्षणहरू जगजाहेर छन् ।
मूलतः राष्ट्रियता मजबुत बनाउन शीर्ष नेतृत्वले निर्णय लिने क्षमता प्रदर्शन गर्नु पहिलो शर्त हुन आउँछ । बहुदलीय व्यवस्था लोकतन्त्रको एउटा प्रमुख सुन्दरता हो तर सुन्दरताले मात्रै सबै कुरा पूर्ण हुन सक्दैनन् । यसका लागि जसरी जीवन, जगत् र ब्रह्माण्ड सृष्टिका सूत्रपात दुई चिजबाट भएको छ, त्यसरी नै लोकतन्त्रको संस्थागत, शान्ति, स्थायित्व र आर्थिक समृद्धिका लागि दुई पक्षीय राजनैतिक ध्रुव अनिवार्य छ । यसको आवश्यकता र महìव हरेक कोणबाट विधिवत र वैज्ञानिक देखिन्छ ।
सतही र फोस्रा कुराहरूलाई छाडेर यसको सार बुझ्ने र गहिराईसम्म पुगेर हेर्ने हो भने वाम गठबन्धन युगको आवश्यकता र समयको तत्कालीन माग हो । यसले विद्यमान राजनीतिक गतिरोधको अन्त्य गर्दै शिष्टाचारयुक्त राजनीतिक संस्कार, सामाजिक न्याय र समानता, लोकतन्त्रको दीर्घकालीन संस्थागत, स्थायी शान्ति र आर्थिक समृद्धिको तीव्र गति पैदा गर्नसक्ने देखिन्छ । एक पक्षले अर्को पक्षलाई सम्मान र शिष्टाचायुक्त व्यवहार गर्दै ठोस प्रमाण, राजनैतिक मुद्दा र विकासका उत्कृष्ट योजनाहरूको बलमा जनतासामु गएर अभिमत प्राप्त गर्ने वातावरण बन्न सक्नेछ । यसरी सुरुआत भएको राजनैतिक संस्कारले स्वच्छ राजनीतिक आधारभूमि मात्रै तय गर्दैन, राजनीतिप्रतिको सबैखाले फोहर र वितृष्णाहरूको समेत अन्त्य गर्दछ । यही नै युगको आवश्यकता र समयको माग हो ।

 प्रकाशित मिति: २०७४/६/२६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना