• ८ वैशाख २०८१, शनिबार

बेलायतमा काभ्रे सोसाइटीको नयाँ कार्यसमिति

blog

लन्डन, मङ्सिर १३ गते । बेलायतमा बस्ने काभ्रेलीहरूको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ ।  सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशनबाट काभ्रे सोसाइटी यूकेले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

सोसाइटीको अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुयाँल सर्वसम्मत चुनिनु भएको छ । काभ्रे सोसाइटी यूके स्थापनाका लागि पहलकर्ता एवम् संस्थापकमध्ये एक उहाँले यसअघि संस्थामा वरिष्ठ उपाध्यक्षको रूपमा भूमिका निर्वाह गर्नुभएको थियो ।

सृजनशील लेष्टर नेपालका वर्तमान अध्यक्ष फुयाँल एनआरएनए यूके सल्लाहकार एवम् साझा नेपाली समाज यूकेका पूर्व वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । नवनिर्वाचित कार्यसमितिमा रामचन्द्र अधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रूपक पौड्याल र बलराम मैनाली, महासचिव अश्विन नेपाल, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकी लामा हुनुहुन्छ । 

सदस्यहरूमा यादव पराजुली, चन्द्र मैनाली, रीता श्रेष्ठ, शान्ता तामाङ, शम्भु गौतम, अर्जुन सापकोटा, विज्ञान हुमागाईँ, प्रवेश केसी, विजय कार्की, सङ्गीता भण्डारी र पदम गोले चुनिनु भएको छ ।

त्यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष रवीन्द्र शर्मालाई प्रमुख संरक्षक तथा डा. महालक्ष्मी अधिकारी, दावा लामा, गोकर्ण हुमागाईँ र मिलन शर्मालाई सल्लाहकारमा मनोनीत गरिएको छ।   

निर्वाचन समिति संयोजक बाचस्पति रेग्मीले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनु भयो । 

कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले सामाजिक क्षेत्रमा उदाहरणीय र जुझारु क्रियाशील फुयाँलको नेतृत्वमा काभ्रे सोसाइटी यूकेले झन् राम्रा कामहरू गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष प्रेम मगर, सल्लाहकार एवम् यार्डली समाजका अध्यक्ष गोकर्ण हुमागाईँ र कोभ्रेन्ट्रीस्थित अभियन्ता गोविन्द सापकोटाले शुभकामना दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष फुयाँलले सोसाइटीले बेलायतवासी सम्पूर्ण काभ्रेलीहरूलाई एकताबद्ध गर्ने, अन्य सङ्घसंस्था तथा समुदायसँगको सहकार्य बढाउने र सामाजिक क्षेत्रमा थप क्रियाशील बन्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।