• ८ वैशाख २०८१, शनिबार

३३५० मिटर अग्लो देम्बाडाँडामा गल्फ खेलको परीक्षण

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मंसिर १३ गते । ओखलढुङ्गा जिल्लाको सबैभन्दा अग्लो स्थान देम्बाडाँडामा गल्फ खेलको परीक्षण गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन हजार ३५० मिटर अग्लो देम्बाडाँडामा गल्फ खेल परीक्षण गरिएको हो । 

देम्बाडाँडाबाट, ताक्लुङ हुँदै सोलुखुम्बु जिल्लाको चार हजार ६० मिटरको उचाइमा रहेको पीके पिकसम्म गल्फ खेलको सम्भाव्यता अध्ययन गरिएको खिजिदेम्बा गाउँपालिका ओखलढुङ्गाका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।

गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको गल्फ परीक्षण सफल भएको अध्यक्ष शेर्पाको भनाई छ । गल्फ खेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि अन्तर्राष्ट्रिय गल्फ खेलाडीहरू आङ दोर्जी शेर्पा, आङ देण्डी शेर्पा, आङ छिरिङ शेर्पा र फिन्छो ओङदी आउनुभएको थियो । 

विश्वकै महँगो खेलको रूपमा लिइने गल्फलाई प्रवर्द्धन गर्न सके यस क्षेत्रमा पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार हुने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । थोलेदेम्बाडाँडा नेपाल सरकारले घोषणा गरेको सय गन्तव्य मध्यको एक हो ।