• १६ चैत २०८०, शुक्रबार

मधेशमाथि प्रदेश–१ को सानदार जित

blog

काठमाडौं, मंसिर १३ गते । प्रदेश–१ ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानदार जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा प्रदेश–१ ले मधेश प्रदेशलाई १० विकेटले हरायो ।

मौसमका कारण ४० ओभरमा झारिएको खेलमा मधेशले दिएको ७१ रनको विजय लक्ष्य प्रदेश–१ ले १९.२ ओभरमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो । प्रदेश–१ का लागि सोनु अन्सारीले अविजित ४५ रन र शुभम् गहतराजले अविजित २४ रन बनाउनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३१.३ ओभरमा सबै विकेटको क्षतिमा ७० रन बनाएको थियो । मधेशका लागि मयन यादवले १९ र डब्लु मल्लिकले १२ रन बनाउनुभयो । अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङमा प्रदेश–१ का लागि विपिन महतो र कप्तान दीपेश कँडेलले तीन तीन विकेट लिनुभयो । सन्देश भट्टराईले दुई तथा आशिष् मगर र आश्विन महतोले एक एक विकेट लिनुभयो । जितसँगै प्रदेश–१ ले चार खेलबाट चार नै अङ्क बनाएको छ । तीन खेलमा अङ्कविहीन मधेश अन्तिममा छ । 

यसैगरी त्रिवि मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले आफ्नो अपराजित यात्रा कायम राखेको छ । मङ्गलबार बागमतीले कर्णाली प्रदेशलाई सात विकेटले हरायो । कर्णालीले दिएको एक सय ३१ रनको विजयी लक्ष्य बागमतीले ३०.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

बागमतीको जितमा कप्तान अशोक पौडेलले ५९ रन बनाउनुभयो । लकी कडायतले अविजित ५१ रन बनाउनुभयो । बलिङमा कर्णालीका अनुज चुनारा, युनिश सिंह र आवास शाहले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो । कर्णालीका लागि कप्तान विपिन रावलले ६८ रन बनाउनुभयो । मनीष थापाले २५ र अनिरुद्ध कवार ११ रन जोड्नुभयो । बलिङमा बागमतीका सक्रिय कार्कीले पाँच विकेट लिनुभयो । 

अहमद राजाले तीन तथा ओमकार यादव र अभिषेक कोइरालाले एक एक विकेट झार्नुभयो । जितसँगै बागमतीले चार खेलबाट आठ अङ्क बनाएको छ । बागमती दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको सुदूरपश्चिमको पनि आठ नै अङ्क छ । बागमतीसँग पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । 

सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।