• ७ वैशाख २०८१, शुक्रबार

गोकर्णेश्वर र टोखामा भएको दुर्घटनामा दुईको मृत्यु

blog

काठमाडौं, मङ्सिर १३ गते । काठमाडौंको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौंको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते उहाँको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै टोखा नगरपालिका वडा नं. ६ ग्रिनल्याण्ड हरियाली बस्ती नजिक सडकमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ बस्ने २६ वर्षीय सबिन कँडेलको गएराति मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते हुनुभएका उहाँको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।