फलफूलमा कीराको प्रकोप

ओखलढुङ्गा, असोज २५ गते । ओखलढुङ्गाका अधिकांश ठाउँमा लगाइएका अमिलो जातका फलफूलमा फलभित्र कीरा पर्ने समस्याले कृषक मारमा पर्न थालेका छन् । 

विगगत दस वर्षदेखि जुनार, सुन्तला, निबुवालगायतका अमिलो जातका फलफूलमा यस्तो समस्या देखा परेपछि कृषक समस्यामा परेका हुन् । गाम्नानङगारका कृषक ज्ञानबहादुर बुढाथोकीले भन्नुभयो, विगतका वर्षमा जुनार, सुन्तलालगायत अमिलो जातका फलफूलमा त कीरा परेकै देखिएको थियो तर यसपटकदेखि त सबै जातका फलफूलमा कीरा पर्न थाले । यसले गर्दा किसानलाई मर्का पर्न थालेको छ । उहाँका अनुसार बारी कान्लाका फलफूलका बोटमा कीरा पर्न थालेपछि बारीका कोदो, मकैमा समेत कीरा देखिँदा किसानले अन्न बालीमा समेत घाटा हुन थालेको छ । जिल्लाको विशेष गरी लिखु र खजिदेम्वा गाउँपालिकाका अधिकांश भाग, मोलुङ्ग गाउँपालिकाको रामपुर, सिद्धिचरण नगरपालिकाको रुम्जाटार, मानेभञ्ज्याङ गाउँपालिकाको उँवु, बाक्सा, मानेभञ्ज्याङ र केतुकेमा अमिलो जातका फलफूल बढी हुने गरेका कृषि विकास कार्यालय ओखलढुङ्गाका प्राविधिक सहायक हेम आले मगरले बताउनुभयो ।
यो जातका फलफूलमा कीरा पर्ने समस्यालाई समाधान गर्न फूल फूल्ने समयमा सबै कृषक चनाखो हुनुपर्ने र फूल फूल्ने समयमा विषादी प्रयोग गरे केही समाधान हुने उहाँको भनाइ छ ।
ओखलढुङ्गामा कुल १४५ हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाइएको भए पनि फलभित्र कीरा पर्ने समस्याले पछिल्ला वर्षमा कृषकहरूले लगाएका बिरुवासमेत मास्न थालेका छन् । यो समस्याका कारण व्यावसायिक रूपमा जुनार खेती गर्दै आउनुभएका गाम्नानङगारका रामचन्द्र भट्टराईले आँफूले पाँच रोपनीमा लगाएका सबै बिरुवा मासेको बताउनुभयो ।
उहाँका अनुसार केही वर्ष पहिलेसम्म फलफूलबाट राम्रो आम्दानी हुने गरेको भए पनि केही वर्षयता कीरा लागेको कारणले राम्रो फल नलाग्दा आम्दानी घटेको छ । उहाँले भन्नुभयो, अहिले आएर आफूले लगाएको जुनार सुन्तलाको हाँगाहरूमा ढुसी पर्ने समस्याले पनि सताइरहेकोे छ । यसको समाधान कसरी गर्ने भन्नेमा किसानहरू अन्योलमा रहेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds