तिलिचो ताल जाने पर्यटक बढे

नवीनराज कुइँकेल

 

बेसीशहर, असोज २५ गते । विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँ, तिहारको बिदाको समय सदुपयोग गर्दै त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको हो । आजभोलि दैनिक तीन सयभन्दा बढी पर्यटक तिलिचो ताल घुम्न पुगेका छन् । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं. ९ मा पर्ने तिलिचो ताल सामुद्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृङ्खलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ ।
तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । यस तालमा पुग्न खाङ्सारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा गर्नु पर्दछ । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ । tilicho taal
श्रीखर्कबाट बेसक्यामसम्मको घोडेटो बाटोमा आवतजावत गर्न कठिनाइ भएपछि पर्यटन व्यवसायी तथा स्थानीयले मर्मत गरी केही सहज बनाएका छन् । तिलिचो पुग्नको लागि काठमाडौँबाट लमजुङको बेसीशहरसम्म बस, पर्यटक बस, माइक्रोबाट जाने र त्यहाँबाट जिपमा माथिल्लो मनाङ पुगिन्छ । खाङ्सारबाट घडेटो बाटो भएकाले घोडा वा पैदलयात्रा गर्नुपर्ने हुन्छ । माथिल्लो मनाङबाट तिलिचो आधार शिविरसम्म पैदल जानुपर्ने र त्यहीँ बस्ने व्यवस्था भएको मनाङ पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
आधार शिविरबाट भोलिपल्ट तिलिचो ताल अवलोकन गरेर बास बस्न फेरि त्यहीँ फर्किन सकिन्छ । भोलिपल्ट त्यहाँबाट माथिल्लो मनाङ पुगेर पहिले आएकै बाटोबाट काठमाडौँ फर्किन सकिने गुरुङको सल्लाह छ । बीच बाटोमा बस्न, खानको लागि कुनै समस्या नभएको गुरुङले जानकारी दिनुभयो ।
गन्तव्य तिलिचोको लागि विदेशी पर्यटकहरूलाई टुर अपरेटरहरूले प्याकेज नै बनाएर बिक्री गर्ने भए पनि नेपालीको लागि भने खासै त्यस्तो सुविधा पाइँदैन तर तिलिचो व्यक्तिगतरूपमा नै जान सकिने व्यवसायीहरूको भनाइ छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार तिलिचो काठमाडौँबाट तिलिचो घुमेर फर्कनको लागि बढीमा एक हप्ताको समय र प्रतिव्यक्ति बढीमा १५ हजार रुपियाँ खर्च लाग्छ । खर्चको हिसाबले व्यक्तिको स्वभाव अनुसार तलमाथि हुनसक्ने भएकोले १० हजारमा पनि पुग्नसकिने गुरुङको भनाइ छ ।
तिलिचो ताल धार्मिक रूपले पनि निकै महìव मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् । दसैँ, तिहारको बीचमा तिलिचो घुम्न दैनिक तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुगीरहेको स्थानीयले बताएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना