• १५ चैत २०८०, बिहिबार

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको चर्चा सुरु

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १३ गते । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएसँगै नयाँ सरकारको विषयमा चर्चा परिचर्चा सुरु भएको छ। नयाँ सरकार कुन दलले र कसको नेतृत्वमा बनाउने भन्ने विषयले अहिले लुम्बिनी प्रदेशमा चर्चा पाएको छ।

प्रत्यक्षतर्फ प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो दल नेपाली कांग्रेस भएको छ। एमाले वा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने आकलन गरिएको छ। 

नेकपा (माओवादी केन्द्र) तेस्रो दल भएकाले सो दलको भूमिका सरकार गठनमा महत्वपूर्ण हुने देखिएको छ। प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सदस्यको टुङ्गो लागेपछि राजनीतिक समीकरणको जोड घटाउ सुरु हुनेछ। 

एमालेले प्रदेश सभाको निर्वाचनपूर्व नै भावी मुख्यमन्त्रीको रूपमा रुपन्देही–२ (क)बाट निर्वाचित लीला गिरीलाई अघि सारेका कारण उहाँ नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको छ। कांग्रेसबाट भने मुख्यमन्त्रीको दाबेदारमा दाङ–३ (क)बाट विजयी डिल्लीबहादुर चौधरी र रुपन्देही क्षेत्र नं.–१ (ख)बाट विजयी बनेका अब्दुल रज्जाकलाई हेरिएको छ। 

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य हुने भएकाले कुन दल ठूलो बन्ने भन्ने विषय समानुपातिकको सिट सङ्ख्या टुङ्गो लागेपछि निक्र्योल हुनेछ। नयाँ सरकार बनाउन ४४ सदस्य आवश्यक पर्छ। 

माओवादी केन्द्रले जोखबहादुर महरालाई भावी मुख्यमन्त्रीका रूपमा अघि सार्दै चुनावमा गएको थियो। महराले रोल्पा–१ (क)बाट निर्वाचन जितेका कारण माओवादीले महराकै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने माओवादी निकटहरू बताउँछन्। 

यद्यपि माओवादीको लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ पाँच सिट मात्रै छ। कांग्रेस र एमाले दुवैले सरकारको नेतृत्व नगर्ने परिस्थितिमा माओवादीको नेतृत्व वैकल्पिक शक्तिका रूपमा आउने देखिन्छ। 

त्यस्तै प्रदेश सभामा एमाले, कांग्रेस र माओवादीबाहेक साना दलको सहभागिताले पनि सरकार गठनको भविष्य निर्धारण गर्न सक्ने आकलन पनि गरिएको छ। साना चार दल जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समान २–२ सिट जितेका छन् भने सीके राउत नेतृत्वको जनमत पार्टीले एक र तीन जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। ती दलको कुल सङ्ख्या जोड्दा १२ हुन्छ। केन्द्रमा पाँचदलीय गठबन्धनको सरकार बनेमा लुम्बिनीमा पनि गठबन्धनकै सरकार बन्ने सम्भावना रहनेछ। यो अवस्थामा कांग्रेस र माओवादी केन्द्रले साना दललाई साथ लिएर सरकार बनाउने देखिनेछ।