• १३ वैशाख २०८१, बिहिबार

नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १२ गते । थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । 

घाइतेका उपचारमा खटिनुभएका नगर प्रहरी निरीक्षक सूर्य के.सीका अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको टाउकोमा चोट लागेको छ । टाउकोमा ७ टाँकासम्म लगाउनु परेको केसीले बताउनुभयो । घाइतेको छाती, ढाड र खुट्टामा चोट लागेका उहाँले बताउनुभयो ।  

बागमती नदी किनारामा निर्माण भएका घर टहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार मङ्सिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नुपर्ने थियो ।

आजको घटनाका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भन्नुभयो, ‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौँ । त्यही क्रममा बस्तीमा पुग्न नपाईकन स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा हानेर आक्रमण भयो । यसबाट नगर प्रहरीहरू घाइते भएका छन् ।’