• १६ चैत २०८०, शुक्रबार

अष्ट्रेलियाली राजदुतद्वारा मदरसा शहबाजियामा स्रोत केन्द्र उद्घाटन

blog

अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्क स्रोत केन्द्रको उद्घाटन गर्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, मंसिर १२ गते । अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले विराटनगर स्थित मदरसा शहबाजिया माध्यमिक विद्यालयमा अष्ट्रेलियाली सहयोगमा स्थापना भएको स्रोत केन्द्रको उद्घाटन गर्नुभएको छ । 

एक कार्यक्रममा उक्त केन्द्रको उद्घाटन गर्दै राजदूत भोल्कले भन्नुभयो, “सामाजिक समावेशिता अष्ट्रेलियाली विकास क्रियाकलापहरूको आधार हो र विराटनगर स्थित यस इस्लाम धर्मावलम्बी बालबालिकाहरूलाई थप सिकाईका अवसरहरुका लागि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’’

“नेपालमा पनि अष्ट्रेलियामा जस्तै विविध जाति, धर्मका समुदायहरू एक आपसमा मिलेर बसेका छन् । शिक्षामा समान पहुँच, सबै क्षेत्रमा समान अवसरहरूले सामाजिक मेलमिलापलाई र राष्ट्रिय समृद्धिलाई प्रोत्साहित गर्दछ । बालिकाहरू र परम्परागत रूपमा सीमान्तकृत विद्यार्थीहरूले समन्यायिक सिकाई उपलब्धिहरू प्राप्त गर्नु आवश्यक छ ।”

उक्त स्रोत केन्द्रको स्थापना अष्ट्रेलिया अवार्डस् अल्मुना शेहनाज अन्सारीको अगुवाइमा दूतावासको अष्ट्रेलियाली अल्मुनाई पब्लिक डिप्लोमेसी फण्डद्वारा प्राप्त आर्थिक सहयोगमा स्थापना गरिएको हो । यसमा बालबालिकाहरूको पढ्ने बानिको विकास गर्न र विभिन्न संस्कृति र भूगोलको बारेमा बुझ्न सहयोग गर्ने पुस्तकहरूको व्यवस्था गरिएको छ ।

राजदूत भोल्कले भन्नुभयो, “जब हामीले अन्य समुदायहरूको बारेमा बुझ्दछौँ तब त्यसले हाम्रो समुदाय, देश र विश्वव्यापी शान्ति र समृद्धिलाई प्रवर्धन गर्दछ ।” कार्यक्रममा राजदूत भोल्कले एसोसिएसन अफ नेपालीज एल्मुनाई फ्रम अष्ट्रेलिया (आना)का प्रतिनिधि शेहनाजलाई उक्त संस्था मार्फत नेपाल र अष्ट्रेलियाको सम्बन्धलाई प्रवर्धन गर्न सफल भएकोमा बधाई समेत दिनुभयो ।

राजदूत भोल्कले उक्त विद्यालयका प्रधानाध्यापक ईमाम हैदरलाई बालबालिकाहरूलाई उच्च स्तरको शिक्षा प्रदान गर्न सहयोग गर्नुभएकोमा धन्यावाद पनि दिनुभयो ।