• १५ चैत २०८०, बिहिबार

प्रत्यक्षमा पचास कटेकाकै वर्चस्व

blog

नारायण काफ्ले

काठमाडौँ, मङ्सिर १२ गते । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन्। ३० भन्दा कम उमेर समूहका दुई जनामा छन्। अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य हुनुहुन्छ। उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन्। ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ। 

आइतबार साँझसम्म सार्वजनिक भएको १५६ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर समूहका २ जना, ३० देखि ४० उमेर समूहका ६ जना र ४० देखि ५० वर्ष समूहका ३० जना निर्वाचित हुनुभएको छ। यस्तै ५० देखि ६० उमेर समूहका ५९ जना निर्वाचित हुँदा ६० देखि ७० उमेर समूहबाट ४७ जना निर्वाचित हुनुभएको छ। ७० वर्षभन्दा माथिका १२ जना हुनुहुन्छ। जसमा तीन जना ८० वर्षमाथिका निर्वाचित सदस्य हुनुहुन्छ। 

नेकपा (एमाले)मा ४० वर्षभन्दा कम उमेरका कोही निर्वाचित भएका छैनन्। यस्तै ४० देखि ५० वर्ष उमेर समूहका आठ जना निर्वाचित भएका छन्। ५० वर्षदेखि ६० वर्ष समूहका २० जना छन्। यस्तै ६० देखि ७० वर्ष समूहका १२ जना छन्। ७० वर्षभन्दा माथि उमेर समूहका अध्यक्ष केपी शर्मा ओली र मङ्गलप्रसाद गुप्ता हुनुहुन्छ। 

यस्तै नेपाली कांग्रेसमा ३० वर्षभन्दा कम उमेर समूहमा निर्वाचित हुनेमा मुस्ताङबाट योगेश गौचन थकाली हुनुहुन्छ। उहाँ २९ वर्षको हुनुहुन्छ। यस्तै कांग्रेसमा ३० देखि ४० वर्ष उमेर समूहबाट कुनै पनि सदस्य प्रत्यक्षमा निर्वाचित छैनन्। यस्तै ४० देखि ५० उमेर समूहका सात जना निर्वाचित भएका छन्। ५० देखि ६० वर्ष उमेर समूहका १८ जना सदस्य छन्। ६० देखि ७० उमेर समूहका २३ जना कांग्रेसबाट निर्वाचित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवासहित चार जना ७० वर्षभन्दा माथि उमेर समूहका हुनुहुन्छ। 

नेकपा (माओवादी केन्द्र)मा पनि ३० वर्षभन्दा कम उमेर समूहका सदस्य निर्वाचित भएका छैनन्। यस्तै ४० देखि ५० उमेर समूहका चार जना निर्वाचित भएका छन्। ५० देखि ६० उमेर समूहका दस जना निर्वाचित भएका छन्। ६० देखि ७० उमेर समूहमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मात्र हुनुहुन्छ। ७० माथिको समूहबाट महिन्द्रराय यादव निर्वाचित हुनुभएको छ। 

नेकपा (एकीकृत समाजवादी)मा ४० देखि ५० वर्ष उमेर समूहका दुई जना निर्वाचित भएका छन्। यस्तै ५० देखि ६० उमेर समूहका तीन जना निर्वाचित भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३० वर्षभन्दा कम उमेर समूहबाट एक जना निर्वाचित हुनुभएको छ। काठमाडौँ २ मा सोविता गौतम उक्त दलबाट निर्वाचित हुनुभएको हो। यस्तै उक्त दलबाट ३० देखि ४० उमेर समूहबाट डा. तोसिमा कार्की र हरि ढकाल निर्वाचित हुनुभएको छ। ४० देखि ५० उमेर समूहबाट चार जना निर्वाचित हुनुभएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षीय ज्ञानबहादुर शाही जुम्लाबाट निर्वाचित हुनुभएको छ। यस्तै ५७ वर्षीय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ। ६० देखि ७० वर्ष उमेर समूहका तीन जना निर्वाचित हुनुभएको छ। यस्तै ७० वर्षमाथिका दुई जना राप्रपाबाट निर्वाचित हुनुभएको छ। 

जनता समाजवादी पार्टीबाट निर्वाचितमध्ये दुई जना ४० देखि ५० वर्ष उमेर समूहका छन्। यस्तै ५० देखि ६० उमेर समूहका तीन जना निर्वाचित भएका छन्। ७० भन्दा माथि उमेर समूहको एक जना निर्वाचित हुनुभएको छ। लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचितमध्ये एक जना ५० देखि ६० वर्ष उमेर समूहको हुनुहुन्छ। यस्तै ६० देखि ७० को एक र ७० भन्दा माथिका दुई जना हुनुहुन्छ। 

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचितमध्ये दुई जना ३० देखि ४० वर्ष उमेर समूहबाट हुनुहुन्छ। एक जना ४० देखि ५० वर्ष उमेर समूहबाट हुनुहुन्छ। जनमत पार्टीको प्रत्यक्षबाट निर्वाचित पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउत ४५ वर्षको हुनुहुन्छ। राष्ट्रिय जनमोर्चाबाट निर्वाचित चित्रबहादुर केसी ८० वर्षको हुनुहुन्छ भने महन्थ ठाकुर प्रत्यक्षबाट निर्वाचित हुनेमा सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ। नेपाल मजदुर किसान पार्टीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सदस्य प्रेम सुवाल ६२ वर्षको हुनुहुन्छ। स्वतन्त्रबाट निर्वाचित पाँच जना पनि ५० वर्षभन्दा माथि उमेर समूहकै हुनुहुन्छ।