फिदिम तीन दिनदेखि अन्धकारमा

पाँचथर, चैत १५ गते । सदरमुकाम फिदिमका स्थानीयवासी तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बिग्रिएको ‘फिडर’ अहिलेसम्म मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको विद्युत् प्राधिकरण सबस्टेसनका प्राविधिक उमेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो–“प्रविधि हो, बिग्रन्छ, हामीले इलामबाट फिडर ल्याएर बनाउने प्रयास गरे पनि त्यो सम्भव भएन, अब विराटनगरबाट उक्त सामान झिकाएका छौँ, सामान आएपछि मात्रै विद्युत् पुनःसञ्चालन हुने छ ।”

विद्युत् सञ्चालन हुन नसक्दा फिदिम, नाँगिन, यासोक, स्याब्रुम्बा, फाक्तेप रानीगाउँ, राँके बजारलगायतका हजाराँै उपभोक्ता अन्धकारमा छन् । विद्युत् सञ्चालन हुन नसक्दा विद्युत्बाट चल्ने सम्पूर्ण विद्युतीय उपकरण, कम्प्युटर इन्स्टिच्युट, स्थानीय सञ्चारमाध्यमसमेत बन्द भएका छन् । इमेल, इन्टरनेट र फोटोकपी यन्त्रसमेत नचल्दा गाउँबाट आएका मानिसहरु नागरिकता तथा राहदानीलगायत निकाल्न चाहिने सिफारिसको फोटोकपीसमेत गर्न नपाउँदा सास्ती खेपिरहेछन् ।

जिल्लामा खासै विद्युत्भार कटौती नहुने भए पनि हावाहुरी चलेर खम्बा ढल्दा विद्युत् सञ्चालन हुन नसक्ने फिदिम साना जलविद्युत् केन्द्र सञ्चालन परियोजनाले जनाएको छ । विद्युत् सञ्चालन हुन अझै केही दिन लाग्ने प्राविधिक यादवले बताउनुभयो ।

पटक पटक यसरी लामो समयसम्म विद्युत् आपूर्ति सञ्चालन गर्न परियोजनालाई आग्रह गर्दासमेत बेवास्ता गर्न थालेपछि उपभोक्ता आक्रान्त बन्न थालेको स्थानीय उपभोक्ता दीपेश गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो–“यसअघि पनि हामीले बत्ती नआउँदा पटक पटक डेलिगेसन गएर ध्यानाकर्षण गराउँदा पनि आफ्नै पारामा काम गर्ने परिपाटी कार्यालयको भएकाले हामीहरु हैरान भएका छौँ, हामीले भनेको सुन्दै सुन्दैनन् ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना