• ११ असोज २०८१, शुक्रबार

विश्वविद्यालयको विकासमा सरकार प्रतिबद्ध

blog

काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ। 

विश्वविद्यालयको वार्षिक सभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/८० को लागि तयार गरिएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनुहुँदै सोहीअनुसार अघि बढेमा विश्वविद्यालयको उन्नति सुनिश्चित हुनेसमेत बताउनुभयो। विश्वविद्यालयले समयको मागअनुसार व्यावहारिक तथा सीपमूलक विषयको पढाइमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। विश्वविद्यालयले अनुसन्धानात्मक कामलाई प्राथमिकता दिनुपर्ने सो अवसरमा प्रधानमन्त्री देउवाले बताउनुभयो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रसाद कोइरालाले विश्वविद्यालयको अध्ययन, अध्यापन तथा अनुसन्धानसम्बन्धी कार्यलाई प्रविधिमैत्री बनाउँदै लगेको बताउनुभयो। नयाँ विद्यार्थी भर्ना प्रक्रियाका साथै सेवा आयोगबाट आह्वान गरिने शिक्षक तथा कर्मचारीहरूको विज्ञापनलाई समेत प्रविधिमैत्री बनाउँदै लगिएको उहाँले सो अवसरमा जानकारी गराउनुभयो। 

तर स्थापनाको २९औँ वर्षमा पुग्दासमेत विश्वविद्यालयले हालसम्म शैक्षिक, प्राज्ञिकका साथै भौतिक विकासको क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सन्तोषजनक नरहेको पनि उहाँले बताउनुभयो। विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेलले आव २०७९/८० का लागि पेस गर्नुभएको एक अर्ब ४१ करोड ३४ लाख २९८ रुपियाँको बजेट सभाले पारित गरेको छ।