• १५ चैत २०८०, बिहिबार

बैतडीबाट एमाले नेता भण्डारीले गर्नुभयो जितको ह्याट्रिक

blog

बैतडी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित एमाले नेता दामोदर भण्डारी । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, मङ्सिर ८ गते । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीबाट नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विजयी हुनुभएको छ । संसदीय राजनीतिमा भण्डारीको बैतडीबाट लगातार यो तेस्रो जित हो । उहाँले जितमा ह्याट्रिक गर्नुभएको छ । 

७७ हजार ४६० मत गणना हुँदा भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरी विजयी हुनुभएको हो ।  उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवर (विजयसुन्दर) ले ३२ हजार ८० मत प्राप्त गरी उपविजेता बन्नुभएको छ । कुँवरलाई एक हजार ५३१ मतले पछि पार्दै भण्डारीले निर्वाचन जित्नुभएको छ ।  

२०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट लगातार उहाँ जित्दै आउनुभएको छ । यसरी लगातार निर्वाचन जित्ने उहाँ बैतडीको पहिलो कम्युनिष्ट नेतामा दरिनुभएको छ । 

 पूर्व अर्थ राज्यमन्त्रीसमेत रहनुभएका भण्डारी २०७० सालको संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट अहिलेका प्रतिस्पर्धी नरेन्द्र कुँवरलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका भण्डारीका लागि नरेन्द्र कुँवर मत माग्दै हिँड्नुभएको थियो । 

तत्कालीन वाम गठबन्धका साझा उम्मेदवार भण्डारीले नेपाली कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्नुभएको थियो । नेकपा विभाजनपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका कुँवरसँग प्रतिस्पर्धा गर्दै भण्डारीले तेस्रो पटक निर्वाचित हुनुभयो । 

आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बैतडीबाट ७८ हजार ३६९ मत खसेको थियो । बैतडीमा यो पटकको निर्वाचनका लागि एक लाख ५० हजार १५६ मतदाता थिए ।