गरिबी,भोकमरी र अभाव अन्त्यका लागि एकीकृत प्रयास अपरिहार्य छ

Ram baranकाठमाडौँ,  चैत १४ गते  । राष्ट्रपति डा रामवरण यादवले विश्वका धेरै मुलुकमा अझै पनि विद्यमान गरिबी, भोकमरी र अभाव अन्त्यका लागि एकीकृत प्रयास अपरिहार्य भएको बताउनुभएको छ । गत बिहीबारदेखि चीनको दक्षिणी प्रान्त हेनानस्थित बोआओ नगरमा सुरु भएको एसियाका लागि बाआओ मञ्चको वार्षिक सम्मेलनलाई आज बिहान सम्बोधन गर्दै उहाँले गरिबी, भोकमरी र विभेद निमिट्यान्न पारेर एसियाको भविष्य स्थिर, सुरक्षित एवम् समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र राष्ट्रबीच र देशभित्रै विद्यमान आय तथा असमानताका अन्य स्वरुपलाई पूर्णतः उपेक्षा गर्न नसकिने बताउँदै राष्ट्रपतिले सबै देशले आफ्ना नागरिकलाई सम्मानजनक जीवन यापनको सुनिश्चितता गर्न नसकेको यथार्थ औँल्याउनुभयो ।

सामूहिक आर्थिक सुरक्षाको अभावमा शान्ति र स्थायित्व हासिल नहुने बताउँदै उहाँले आर्थिक वृद्धि र विकासका ढोका खोल्न मजबुत एवम् सहयोगात्मक संरचनाको आवश्यकतामा विशेष जोड दिनुभयो । “शान्ति र गरिबीबीच सामाञ्जस्य हुन सक्दैन, एसिया महादेशको पूर्ण विकास सबै देशको साझा लक्ष्य हुनुपर्छ,” उन्नति र समृद्धिका लागि स्रोत र समय दिनुपर्ने बताउँदै राष्ट्रपतिले भन्नुभयो ।

सन् २००१ मा एसियाका लागि बोआओ मञ्च स्थापना भएदेखि नै उक्त मञ्च एसिया र यो महादेश बाहिरका देशले सामना गर्नुपरेका समसामयिक विषयमा छलफल तथा पारस्परिक अनुभव आदानप्रदानमा ज्यादै महत्वपूर्ण छ भन्दै राष्ट्रपति डा यादवले सम्मेलनको मुख्य विषयवस्तु ‘एसियाको नयाँ भविष्य ः साझा भाग्ययुक्त समुदायतर्फ’ राखिनु उपयुक्त एवम् समयानुकूल भएको बताउनुभयो ।

उहाँले गहन छलफल र लाभदायक अन्तक्र्रियाका माध्यमबाट बोआओ मञ्च आफ्नो परिकल्पना साकार तुल्याउने नवीन विचार सिर्जना गर्न सक्षम हुने विश्वास व्यक्त गर्दै मञ्चको सफलताको कामना गर्नुभयो ।

“विशाल एवम् विविधतायुक्त हाम्रो महादेशको उदय अभूतपूर्व छ, अन्य धेरै उदीयमान अर्थव्यवस्था भएका मुलुकसँगै हामीसँग विश्वकै दोस्रो र तेस्रो विशाल अर्थतन्त्र भएका देश छन्,”– एसियाको इतिहासमा कहिल्यै नभएको गतिशीलता र प्रगतिले एसियालीहरुमा जगाएको आशातर्फ सङ्केत गर्दै राष्ट्रपति डा यादवले भन्नुभयो ।

एसियाले रचना गरेको गतिशीलता र प्रगतिको इतिहास शान्ति, स्थायित्व, लोकतन्त्र र सामूहिक समृद्धिको इतिहास बनोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै उहाँले एसियाको विद्यमान आशावादी परिदृश्यले यो महादेशको धरातलीय यथार्थलाई महत्वहीन तुल्याउन नहुनेमा जोड दिनुभयो ।

सन् २००८ मा राजतन्त्रको अन्त्यसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनेको नेपाल राजनीतिक रुपान्तरणको ऐतिहासिक चरणबाट गुज्रिरहेको र प्रजातान्त्रिक रुपमा निर्वाचित संविधानसभाबाट नयाँ संविधान जारी गर्नु आफ्नो मुलुकका लागि अहिलेकोे सर्वाधिक महत्वपूर्ण काम भएको राष्ट्रपतिले बताउनुभयो ।

संविधान बनाउन नेपाली जनता सक्षम
संविधान निर्माणका काममा केही कठिनाइको सामना गर्नु परे पनि सौहाद्र्रपूर्ण ढङ्ले समाधान गर्न नेपाली जनता सक्षम रहेको बताउँदै उहाँले नेपाली जनताको संविधान प्राप्तिका प्रयासमा अन्तर्राष्ट्रिय समुदाय एवम् शुभचिन्तकबाट बृहत् समझदारी, ऐक्यबद्धता र सहयोग आवश्यक छ भन्नुभयो ।

अल्पविकसित एवम् भूपरिवेष्टित नेपालले विकास प्रयासमा गम्भीर अवरोधको सामना गर्नुपरेको, पर्याप्त पूर्वाधारको अभाव, न्यूनस्तरको औद्योगिक आधार, अपर्याप्त पुँजी, प्राविधिक सीप र ज्ञानको कमी, दक्ष मानव संशाधनको अपर्याप्तता र न्यूनस्तरको उत्पादन क्षमताले आफ्नो मुलुकको आर्थिक अवस्था चित्रण गर्छ भन्दै राष्ट्रपतिले पर्यटन, जलविद्युत् र कृषिजस्ता विकासका अथाह विकल्पको उयोग हुन नसकेको बताउनुभयो । उहाँले प्राकृतिक तथा मानव संसाधनको प्रचुर उपलब्धता भए पनि नेपाली जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हुन नसकेको पनि उल्लेख गर्नुभयो ।

नेपालको आर्थिक पूर्वाधार तथा अर्थतन्त्रका उत्पादनमूलक क्षेत्रका साथै संस्था र सर्वसाधारणमा बृहत् लगानीको आवश्यकता रहेको जानकारी दिँदै राष्ट्रपति डा यादवले विशेषगरी निरन्तर बढिरहेको युवा वर्गमा त्यस्तो लगानी गर्न जरुरी भएको बताउनुभयो ।

नेपालले लगानीका लागि नीतिगत रुपमा उदार एवम् आकर्षक व्यवस्था अवलम्बन गरेको स्पष्ट गर्दै उहाँले उद्योगी–व्यापारिक समुदायलाई नेपालमा उपलब्ध अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो । राष्ट्रपतिले पूर्वाधार, जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा गरिने लगानीले प्रतिफल प्रदान गर्ने बताउँदै तिनमा पुँजी प्रवाह गर्न अनुरोध गर्नुभयो ।

परस्पर सम्बद्ध एवम् अन्योन्याश्रित अहिलेको विश्वमा साझा भाग्ययुक्त समुदाय निर्माणको लक्ष्य प्राप्त गर्न साझेदारी, सहयोग र सहकार्यको विकल्प नभएको बताउँदै राष्ट्रपतिले यस क्षेत्रका सबैको लाभका निम्ति एसियाली पूर्वाधार विकास बैंक र रेसम मार्ग आर्थिक क्षेत्रजस्ता नयाँ क्षेत्रीय प्रयासमा निकट सम्पर्कमा रहेर हर्षपूर्वक काम गर्ने नेपालको चाहना व्यक्त गर्नुभयो ।

मञ्चको वार्षिक सम्मेलनमा सहभागी हुने अवसर आफूलाई उपलब्ध गराएकामा आयोजकप्रति आभार प्रकट गर्दै उहाँले एसियाको उपयुक्त भविष्यको प्रतिनिधित्व गर्ने साझा भाग्यउन्मुख समुदाय निर्माणमा नेपालले अधिकतम सहयोग एवम् सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना