• ५ वैशाख २०८१, बुधबार

सत्ताको मोलमोलाइ अब सुरु हुन्छ : अध्यक्ष ओली

blog

झापा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएपछि प्रमाणपत्र ग्रहण गर्नुहुँदै अध्यक्ष ओली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ८ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणामले मुलुकमा स्थिरता कायम नहुने र सत्ताको लागि मोलमोलाइ सुरु हुने बताउनुभएको छ । निर्वाचन परिणामको ट्रेन्डले मुलुकमा राजनीतिक स्थिरता हुने सङ्केत नदेखिएको उहाँको भनाइ छ ।

बिहीबार झापाको क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचित प्रमाणपत्र लिनुभएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । “निर्वाचन परिणाम हेर्दा अब दल तथा सांसदहरुको मोलमोलाइ सुरु हुने सङ्केत देखिएको छ” उहाँले भन्नुभयो ।  

अब नयाँ सरकार बन्न नै धेरै समय लाग्न सक्छ भन्नुहुँदै अध्यक्ष ओलीले राजनीतिक अस्थिरताको खेल पुनः सुरु हुने दाबी गर्नुभयो । “सरकार गठन प्रक्रियामा भएको फोहोरी खेल अब सुरुवातदेखि नै हुनसक्छ उहाँले भन्नुभयो । 

सरकारमा जाने क्षमता र योग्यताभन्दा पनि अब टाउको हेरेर मोलतोल गर्ने अवस्था आउन सक्ने भन्दै ओलीले थप्नुभयो, “अहिलेको परिणाम त्यति सन्तोषजनक नभए पनि जनताको जनादेश सबैले स्वीकार्नुपर्छ, तर देशको विकासमा यो परिणामले ठूलो भूमिका खेल्न सक्दैन ।” देश विकासका लागि स्थिर सरकारको खाँचो भएको तर परिणामले त्यस्तो हुने सङ्केत नदेखाएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले समग्रमा निर्वाचन निष्पक्ष भए पनि केही ठाउँमा धाँधली भएको उहाँले आरोप लगाउनुभयो । “हामीले कतिपय ठाउँमा धाँधली भएको देखेका छौं । त्यहाँ पुनः निर्वाचन गराउनका लागि निर्वाचन आयोगसँग हाम्रो माग छ” ओलीले भन्नुभयो ।

ओलीले आफ्नो निर्वाचन क्षेत्रमा निष्पक्ष मतादान गर्ने र मतगणना सकेर परिणाम सार्वजनिक गरेसम्म भूमिका निर्वाह गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । यस क्षेत्रमा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित तवरले सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्दछु, उहाँले भन्नुभयो ।

झापा ५ प्रतिनिधि सभा सदस्यमा ओली, प्रदेश सभा ५(क) मा हिक्मतकुमार कार्की र ५ (ख) मा होमबहादुर थापा विजय बन्नुभएको छ । ओली बिहीबारदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा विजय जुलुसमा सहभागी बन्नुभएको छ ।