• ११ वैशाख २०८१, मङ्गलबार

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

blog

म्यान अफ दि म्याच घोषित मिलन बोहोरा । तस्बिर : क्यान

काठमाडौं, मंसिर ८ गते । सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पाँच विकेटले हरायो । कर्णालीले दिएको एक सय २८ रनको विजयी लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । 

सुदूरपश्चिमको जितमा मिलन बोहोराले ४२ रन बनाउनुभयो । दीपक बोहोराद्वयले समान २०/२०, सुनिल चन्दले १३ र अनुराग सिंहले १० रन बनाउनुभयो । बलिङमा कर्णालीका अनुज चुनाराले तीन तथा सन्दीप शाही र मोहन विकले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले अविजित ३५ रन बनाउनुभयो । सुवास ऐरले ३०, कप्तान विपीन रावलले १९ र आवाश शाहले १५ बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका मिलन बोहोराले तीन विकेट लिनुभयो । नरेन साउदले दुई तथा हेमन्त धामी र कैलाश ऐरले एक एक विकेट लिनुभयो । 

सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेटसंघ (क्यान) ले जनाएको छ ।