• १५ चैत २०८०, बिहिबार

उपत्यकामा कांग्रेस सात, रास्वपा पाँच, एमाले दुई र नेमकिपा एक क्षेत्रमा विजयी

blog

काठमाडौं, मंसिर ८ गते । काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रकाे मतपरिणामअनुसार नेपाली कांग्रेस सात, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँच, नेकपा एमाले दुई र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) एक क्षेत्रमा विजयी भएकाे छ । 

केन्द्रीय राजधानी रहेकाे काठमडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभा सदस्यमा पाँच क्षेत्रमा कांग्रेस, चार क्षेत्रमा रास्वपा र एक ठाउँमा एमालेका उम्मेदवार विजयी बन्नुभएकाे छ । 

यस्तै, ललितपुरको तीन निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदार निर्वाचित हुनुभयाे । प्रतिनिधि सभा सदस्यमा भक्तपुरका दुई निर्वाचन क्षेत्रबाट नेमकिपा र कांग्रेसका प्रतिनिधि निर्वाचित हुनुभयाे । नेकपा माओवादी केन्द्रले भने यसअघि जितेकाे ललितपुर ३ पनि गुमाउनुपुग्याे ।

उपत्यकाबाट प्रकाशमान सिंह, कृष्णगाेपाल श्रेष्ठ, राजेन्द्र केसी, गगनकुमार थापा, उदय शम्शेर जबरा र प्रेम सुवाललाई पुनः मतदाताहरूले मत दिएर प्रतिनिधिसभामा पठाएका छन् । 

प्रतिनिधि सभामा काठमाडौंबाट निर्वाचित 

निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत, निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम १५ हजार २२९ मत, क्षेत्र ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मतका साथ निर्वाचित हुनुभयाे। यस्तै, निर्वाचन क्षेत्र ४ मा कांग्रेसका गगनकुमार थापा २१ हजार ३०१ मत, क्षेत्र ५मा कांग्रेसका प्रदीप पौडेल १५ हजार २३७ मत र  क्षेत्र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतसहित निर्वाचित हुनुभयाे । 

निर्वाचन क्षेत्र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली आठ हजार ७४३ मत र साेही पार्टीका विराज भक्त श्रेष्ठ १० हजार १०५ मतका साथ क्षेत्र ८ मा निर्वाचित हुनुभयाे । यस्तै, निर्वाचन क्षेत्र ९ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्ण गोपाल श्रेष्ठ ११ हजार ९५६ मत र निर्वाचन क्षेत्र १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी १४ हजार ४५८ मत प्राप्तसहित विजयी हुनुभयाे । 

प्रतिनिधि सभामा ललितपुरबाट निर्वाचित 

प्रतिनिधि सभा सदस्यमा ललितपुरको तीन निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार निर्वाचित भएका छन् । ललितपुरको क्षेत्र १ मा नेपाली कांग्रेसका उदय शम्शेर जबरा १३ हजार ८९२ मतका साथ विजयी हुनुभयाे । नेकपा (माओवादी केन्द्र)ले उपत्यकाका कुनै पनि क्षेत्रमा विजयी हुन सकेन । यसअघि ललितपुर ३ मा साे पार्टीले जितेकाे थियाे ।

निर्वाचन क्षेत्र २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रेमबहादुर महर्जन १५ हजार २५ मतका साथ विजयी हुनुभयाे भने निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्की ३१ हजार १३६ मतका साथ विजयी हुनुभयाे । 

प्रतिनिधि सभामा भक्तपुरबाट निर्वाचित 

प्रतिनिधि सभा सदस्यमा नेपाल मजदुर किसान पाटी र नेपाली कांग्रेसका प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचन क्षेत्र १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७५९ मतका साथ निर्वाचित हुनुभयाे । भक्तपुर जिल्लाकाे यस क्षेत्रमा वि.स. २०४८ सालदेखि नेमकिपाकाे विजय यात्रा निरन्तर रूपमा चलिरहेकाे छ ।

 यस्तै, भक्तपुर निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री २४ हजार २३८ मतका साथ विजयी हुनुभयाे ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।