दोस्रो बन्न तीन दलबीच प्रतिस्पर्धा

सुरेशकुमार यादव

 

काठमाडौँ, असोज ८ गते । प्रदेश २ को १३६ मध्ये ११५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार काँग्रेसले ३५ स्थानमा विजयसहित पहिलो दल बनेको छ भने दोस्रो दल बन्न तीन दल बीच प्रतिस्पर्धा भइरहेको छ । राती दश बजेसम्म सङ्घीय समाजवादी फोरम नेपालले २१, राष्ट्रिय जनता पार्टी नेपालले २० र माओवादी केन्द्रले १९ स्थानीय तहमा चुनाव जितेका छन् । एमालेले १४, नेपाल लोकतान्त्रिक फोरम नेपालले तीन, नेपाली जनता दलले दुई र नयाँ शक्ति नेपालले एक स्थानमा जित हासिल गरेका छन् ।
महोत्तरीका १३ स्थानीय तहको नतिजा आइसकेको छ जसमा राजपाले पाँच, काँग्रेसले तीन, माओवादी केन्द्रले चार, तथा सङ्घीय फोरमले एक स्थानमा जित हासिल गरेका छन् । मत गणना जारी रहेको मनरासिस्वा नगरपालिका र पिपरा गाउँपालिममा राजपा अगाडि छ ।
त्यस्तै, सिरहाको सिरहा नगरपालिकाबाहेक १६ स्थानीय तहको परिणाम आइसकेको छ । जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवका अनुसार माओवादी केन्द्रले छ, एमालेले चार, फोरम नेपालले चार र काँग्रेसले दुई स्थानीय तहमा विजय प्राप्त गरेको छ । मत गणना जारी रहेको सिरहा नगरपालिकामा फोरम नेपालले अग्रता लिएको छ ।
पर्सामा वीरगन्ज महानगरपालिकामा फोरम नेपाल र काँग्रेसबीच कडा प्रतिश्पर्धा छ । सुरुमा राजपा अग्र स्थानमा रहेको वीरगन्जमा पछि काँग्रेस अग्र स्थानमा आएको थियो भने शनिबारदेखि फोरम नेपालले अग्र स्थान लिएको छ । पर्सामा माओवादी केन्द्र तीन, फोरम नेपाल तीन, काँग्रेस तीन, नेपाली जनता दल दुई र एमाले दुई स्थानमा विजयी भएका छन् ।
बारामा १६ स्थानीय तहमध्ये ११ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये काँग्रेसले चार, राजपाले तीन, फोरम नेपालले तीन र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानमा जित हासिल गरेका छन् । कलैया उपमहानगरपालिकामा फोरम नेपाल अग्रस्थानमा छ भने जितपुर सिमरा उपमहानगरपालिकामा एमाले, बारागढीमाई गाउँपालिकामा काँग्रेस, आदर्श कतोवाली गाउँपालिकामा माओवादी, कोलवी नगरपालिकामा एमाले र महागढीमाई नगरपालिकामा काँग्रेस अगाडि छ ।
धनुषामा १८ स्थानीय तहमध्ये जनकपुर उपमहानगरपालिका र सबैला नगरपालिकाबाहेक सबै तहको नतिजा आएको छ । जनकपुर उपमहानगरपालिकामा राजपा अघि छ भने सबैलामा काँग्रेस अघि छ । नतिजा सार्वजनिक भएको १६ स्थानमध्ये काँग्रेस सात, एमाले चार, फोरम नेपाल दुई, राजपा एक, माओवादीले दुई स्थानमा जित हासिल गरेका छन् ।
त्यस्तै, २० स्थानीय तह रहेको सर्लाहीमा १६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमा काँग्रेसले चार, माओवादीले दुई, राजपा पाँच, फोरम नेपालले एक, एमालेले तीन र लोकतान्त्रिक फोरमले एक स्थानमा जित हासिल गरेको छ । मलङ्गवा नगरपालिकामा काँग्रेस कवलासीमा राजपा, वरहथवा नगरपालिकामा माओवादी र हरिपुर नगरपालिकामा एमाले अघि छ ।
सप्तरीको १८ स्थानीय तहमध्ये १४ तहको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये काँग्रेसले चार, एमालेले एक, राजपा चार, फोरम नेपाल चार, नयाँ शक्ति नेपाल एक स्थानीय तहमा विजय भएका छन् । मतपत्रमा हस्ताक्षर नभएको कारण देखाउँदै विवाद भएपछि राजविराज नगरपालिकाको मत गणना स्थगित छ । खरक र कन्चनरूप नगरपालिकामा काँग्रेस, शम्भुनाथ नगरपालिकामा एमाले र राजविराजमा फोरम नेपाल अघि छ ।
रौतहटमा १८ स्थानीय तहमध्ये १६ तहको नतिजा आएको छ, जसमध्ये काँग्रेसले ८, फोरम नेपालले तीन, माओवादी केन्द्रले दुई, राजपाले दुई, लोकतान्त्रिक फोरमले एक स्थान जितेको छ ।
(धीरेन्द्रप्रसाद साह (सप्तरी), जीवछ यादव (सिरहा), धर्बेन्द्र झा (धनुषा), नागेन्द्र कर्ण (महोत्तरी) टङ्क क्षेत्री (सर्लाही), सञ्जयकुमार मिश्र (रौतहट), शिवशङ्कर मिश्र (बारा), दीपक गौतम (पर्सा) को सहयोगमा)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds