• ८ वैशाख २०८१, शनिबार

दाङ–१ (ख) मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

blog

दिवाकर पोख्रेल

दाङ, मङ्सिर ८ गते । दाङ निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको हो ।

विजयी खड्काले १६ हजार २२२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी केसीले १३ हजार १७० मत पाउनुभएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले पाँच हजार १३९ मत पाउनुभयो ।

निर्वाचित खड्काले रासससँग  कुरा गर्दै जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफूले खटेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कलिलो युवकलाई यति धेरै विश्वास गर्दिनुभयो, म यो विश्वासलाई आत्मसात् गरेर अगाडि बढ्नेछु ।”

दाङ–१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश (क) मा ४० हजार १०६ र प्रदेश (ख) मा ३८ हजार ५९२ गरी कुल ७८ हजार ६९८ मत खसेको थियो ।