• ७ वैशाख २०८१, शुक्रबार

सोलुखुम्बुको प्रतिनिधि सभामा एमालेका मानवीर राई विजयी

blog

सन्तोष राउत 

सोलुखुम्बु, मङ्सिर ८ गते । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई एमालेको ३२ वर्षीय संसदीय इतिहासमा पहिलो पटक विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई दुई हजार ७७९ मतको फराकिलो अन्तरले पछि पार्दै राई विजयी हुनुभएको हो । 

राईले १९ हजार ३२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ५४५ मत प्राप्त गर्नुभयो।

मङ्सिर ४ को निर्वाचनमा यहाँ ४० हजार ४३३ मत खसेको थियो । जिल्लामा कुल ८१ हजार ५ सय २ मतदाता छन्। राई नेकपा एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हुनुहुन्छ। उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन जिल्ला विकास समितिको सदस्य हुनुहुन्थ्यो। 

त्यस्तै, सोलुखुम्बु जिल्ला प्रदेश सभा क मा गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा कर्ज्याङ विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी एमालेका उत्तमकुमार बस्नेतलाई एक हजार ६३७ मतले पछि पर्दै विजय हासिल गर्नुभएको हो।

अन्तिम मतपरिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार ३९८ मत प्राप्त गर्नुभयो। उक्त प्रदेशमा जम्मा २० हजार ४०४ मत खसेको थियो ।

प्रदेश सभा ख मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । राजभण्डारीले भारी मतान्तरका साथ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवबहादुर बस्नेत राजेन्द्रलाई पराजित गर्नुभएको हो । 

१९ हजार ४९५ मत खसेकोमा राजभण्डारीले १० हजार १२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी बस्नेतले छ हजार ८१५ मत प्राप्त गर्नुभयो । एमालेको निवर्तमान प्रदेश सांसद राजभण्डारी यसअघि प्रमुख सचेतक हुनुहुन्थ्यो ।