• १२ वैशाख २०८१, बुधबार

बझाङमा समाजवादीका जोशी विजयी

blog

प्रदेशमा माओवादी र कांग्रेस विजयी

शैलेन्द्र रोकाया 

बझाङ, मङ्सिर ८ गते । बझाङमा प्रतिनिधि सदस्य नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऐन महरलाई पछि पार्दै ९ सय ९८ मतान्तरले जोशी विजयी भएका हुन्  । 

कुल खसेको मत ६३ हजार ४ सय ८९ मत मध्ये जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित भएका हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको थियो । 

जिल्ला भरी १२२,३७६ मत मध्ये ६१,५०६ मत खसेका थिए । प्रतिनिधि सभामा कुल ३,४५९ मत बदर भएका थिए । 

बझाङ (क) मा कांग्रेसबाट सिंह विजयी 

बझाङको प्रदेशसभा (क) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंह विजयी हुनु भएको छ  । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । 

सिंह २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरवबहादुर सिंहसँग पराजय हुनु भएको थियो । सिंहले नेकपा एमालेका अफिलाल ओखेडा लाई तिन हजार ६ सय ७९ मतले पछि पार्नु भएको थियो । उहाँले १६ हजार ६ सय ७७ मत ल्याउँदा एमाले उम्मेदवार अफिलाल ओखेडाले १२ हजार ९ सय ९८ मत पाउनु भएको थियो । 

बझाङ (ख) बाट माओवादीका भण्डारी विजयी 

प्रदेश सभा( २ ) मा कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार भीम भण्डारी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम नेकपा एमालेका नेता तथा संविधान सभा सदस्य लालबहादुर रावललाई २,५४२ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन् । 

भण्डारीले १३८७९ मत प्राप्त गर्नु भएको थियो भने रावलले ११३३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ मा १७६५ मत बदर भएको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।