• १६ चैत २०८०, शुक्रबार

राजस्व सङ्कुचनले अर्थतन्त्र दबाबमा

blog

काठमाडौं, मङ्सिर ८ गते । तोकिएको लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्दा अर्थतन्त्र दबाबमा परेको अर्थ मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अन्तिम दिन बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा तरलता अभाव, वस्तु र सेवाको मागमा आएको सङ्कुचन र बाह्य असन्तुलन नियन्त्रणका लागि कार्यान्वयन गरिएका कतिपय नीतिका कारण राजस्व सङ्कलनमा सङ्कुचन आएको उहाँहरूले बताउनुभयो । राजस्वमा देखिएको यस्तो सङ्कुचन इतिहासकै सबैभन्दा कठिन समय भएको पनि उहाँहरूको भनाइ छ । 

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले अर्थतन्त्रमा देखिएको अहिलेको समस्या आत्तिनैपर्ने खालको नभए पनि अर्थतन्त्रमा केही सुधारको खाँचो रहेको बताउनुभयो । “अमेरिका, चीनजस्ता देश पनि अहिले अर्थतन्त्रका विविध समस्यासँग जुधिरहेकै छन् । नेपालले पनि यस्ता समस्या भोगिरहेको भए पनि मनोबल कमजोर बनाउनुपर्ने बेला भएको छैन,” उहाँले भन्नुभयो । 

अर्थ सचिव पुष्करले निजी क्षेत्रले उठाइरहेका मागलाई सम्बोधन गर्न मौद्रिक नीतिमा गर्नुपर्ने सुधारलाई पनि अगाडि बढाइएको जानकारी दिनुभयो । 

उहाँले करको दायरा बढाउने र दर व्यवस्थापनका सन्दर्भमा पनि विज्ञ टोलीबाट सुझाव लिएर सोहीअनुसार काम गर्ने तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा उहाँले कारोबारमा बिल लिने–दिने प्रवृत्तिलाई बढाउने र क्रस बोर्डर व्यापारलाई थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राजस्व सचिव रामेश्वर दङ्गालले चालू आर्थिक वर्षको पहिलो चार महिनामा लक्ष्यको ७२ प्रतिशत मात्रै राजस्व सङ्कलन भएकाले अहिले इतिहासकै कठिन घडीमा अर्थतन्त्र रहेको बताउनुभयो । राजस्व सङ्कलनमा देखिएको सङ्कुचनले सरकारका आर्थिक नीति कार्यान्वयनसहित समग्र क्षेत्रमै असर पर्ने अवस्था आउन सक्ने भनाइ राख्नुभयो । 

विदेशी मुद्रा बचतका लागि लिइएको बाह्य क्षेत्र सुधारको नीतिका कारण राजस्व सङ्कलन प्रभावित भएकाले यसको न्यूनीकरणमा सरोकारवाला सबै लाग्न उहाँले आग्रह गर्नुभयो । “यस्तो परिस्थितिमा एकले अर्कालाई दोष देखाएर समस्या समाधान हुँदैन । सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले समस्या समाधानमा ध्यान नदिने हो भने अर्थतन्त्रमा थप दबाब पर्न सक्छ,” उहाँले भन्नुभयो । राजस्व प्रशासनको इतिहासमा योभन्दा कठिन अवस्था पहिलो नभएकाले आर्थिक जटिलता समाधान गर्न सबैको इमानदार प्रयास जरुरी हुने उहाँको भनाइ थियो । 

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले विगत चार महिनाको अवस्था हेर्दा आन्तरिक राजस्व ‘स्टे«स’मा रहेको र भोलिका दिनमा अझै चुनौतीपूर्ण अवस्थामा हुने बताउनुभयो । उहाँले विभागले कर प्रशासनलाई चुस्त बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको, करदाताको वर्गीकरण गरेर १० करोडभन्दा माथिको कारोबार गर्नेलाई विद्युतीय बीजक अनिवार्य गरिएको जानकारी दिनुभयो । अर्थतन्त्रको चक्र बिग्रन नदिन अबका दिनमा सबैको प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले करलाई रहरले तिर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । त्यस्तै उहाँले राजस्व न्यायाधिकरणमा विभागले हार्ने किसिमकै मुद्दामा पनि बारम्बार निजी क्षेत्रलाई दुःख दिइएकामा गुनासो गर्नुभयो । अहिले तरलता अभाव सबैभन्दा ठूलो समस्या भएकाले यसको समाधान नगरी अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनुभयो । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले करको दायरा विस्तार गर्न नागरिकता दिने समयमै प्यान कार्ड दिने व्यवस्था गर्न विभागलाई सुझाव दिनुभयो । ब्याजदर वृद्धिले अर्थतन्त्रमा ल्याएको समस्या समाधान गर्न नीतिगत सुधार गर्नेपर्नेमा उहाँको जोड थियो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले ब्याजदर वृद्धि, तरलता अभावजस्ता कारणले निजी क्षेत्रको मनोबल घटेको र पुससम्म राजस्व सङ्कलनमा थप सङ्कुचन आउने देखिएको बताउनुभयो । 

उत्कृष्ट करदाता सम्मानित

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा कर राजस्वमा योगदान पु-याउने उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । कर सप्ताहको समापनका अवसरमा आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दङ्गालले उत्कृष्ट करदातालाई सम्मान तथा कदरपत्र प्रदान गर्नुभएको थियो । सम्मानित हुनेमा आव २०७७/७८ मा सबैभन्दा धेरै आयकर दाखिला गर्ने नेपाल टेलिकम रहेको छ । 

त्यस्तै व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिरेर विजयकुमार शाह सम्मानित हुनुभएको छ । सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गरेर सूर्य नेपालले पनि सम्मानित हुने अवसर पाएको छ । यसबाहेक विशेष उद्योगतर्फ सबैभन्दा धेरै आयकर दाखिला गर्ने राजेश मेटल क्राफ्ट्स प्रालि, निर्यात कारोबारबाट शिवशक्ति घिउ उद्योग प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये ओसीबी फुड्स एन्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ । 

बैङ्क तथा वित्तीय संस्थातर्फ उक्त आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर दाखिला गर्ने नबिल बैङ्क, बीमा व्यवसायमा नेपाल पुनर्बीमा कम्पनी, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापार कारोबार गर्नेतर्फ हंशराज हुलासचन्द एन्ड के प्रालि, मध्यमस्तरीय करदातातर्फ नेपाल धितोपत्र विनिमय बजार लिमिटेड, ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत् कम्पनी र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन् । 

२०६७ सालदेखि २०७९ असारसम्म कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गरेर गोर्खा ब्रुअरी प्रालि सम्मानित भएको छ । सोही अवसरमा विभागले उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ ।