• १६ चैत २०८०, शुक्रबार

आन्तरिक उडान भरिभराउ

blog

काठमाडौँ, मङ्सिर ८ गते । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका कारण आन्तरिकतर्फको हवाई उडान भरिभराउ भएको छ । पछिल्लो समय मतदानमा सहभागी भएर आफ्नो थातथलोबाट राजधानी भित्रिने यात्रुको चापले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भरिभराउ छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रुको चाप बढ्दै गएको बताउनुभयो । हाल चाडपर्वपछि विदेशबाट फर्किने, वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि बाह्य मुलुक जाने यात्रुले अन्तर्राष्ट्रिय उडान र निर्वाचनको चहलपहलले आन्तरिकतर्फको उडान भरिभराउ रहेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय काठमाडौँ विमानस्थलबाट आन्तरिकतर्फ दैनिक ११ हजार र अन्तर्राष्ट्रियतर्फ दैनिक १४ हजार यात्रुले ओहोरदोहोर गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

अहिले हिमाली जिल्लाका कर्मचारी, मतपत्र, मतमेटिका, उम्मेदवारलाई बोक्न र उद्धार उडान गर्नसमेत हेलिकोप्टरलाई भ्याइनभ्याइ छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ दैनिक १४० को हाराहारीमा उडान तथा अवतरण हुँदै आएको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो । 

त्यस्तै अन्तर्राष्ट्रियतर्फ भने दैनिक ८० को हाराहारीमा उडान तथा अवतरण हुँदैआएको उहाँको भनाइ छ । यात्रुवाहक उडानको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दा राति १० बजेसम्म नै आन्तरिक उडान हुँदैआएको छ । बढ्दो हवाई ट्राफिकका कारण पछिल्लो समय जहाज ‘डिले’ हुने क्रम बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार सन् २०२२ को १० महिनामा ६४ लाख ८० हजार यात्रुले हवाई सेवा लिएका छन् ।