बढ्यो तरकारीको मूल्य

बाबुराम देवकोटा

 

सिन्धुलीमाढी, असोज ४ गते । कमलामाई नगरपालिका–४ मल्लागाउँकी गृहिणी तुलसा दाहाललाई तरकारीको आकासिँदो मूल्यले चिन्तित बनाएको छ । दैनिक उपभोगका लागि बजारमा किन्न पाइने तरकारीको मूल्य दिनदिनै बढ्दैगएको उहाँको गुनासो छ ।
तरकारी किन्न जाँदा एक पटकमा पाँच सय रुपियाँभन्दा घटी त लिएर जानै पर्दैन, उहाँले भन्नुभयो । तरकारीको आकासिँदो मूल्य वृद्धिले भान्सा चलाउन कठिन बन्दैगएको उहाँको भनाइ छ । उहाँका अनुसार गत वर्षसम्म पाँच सय रुपियाँ लिएर तरकारी किन्न जाँदा कम्तीमा पनि एक साताको लागि पुग्थ्यो तर अहिले दुई छाकदेखि तीन छाक पुग्दैन । मल्लागाउँ निवासी गृहिणी दाहाललाई मात्र यो समस्या होइन, सदरमुकामस्थित ढुङ्ग्रेबास बजारका होटल व्यवसायी असोक जोशीको गुनासो पनि उस्तै छ ।
तरकारीको बढ्दो मूल्यले व्यवसाय धान्न नै कठिन हँुदैगएको होटल जोशी बताउनुभयो । तरकारीको भाउ बढ्यो भनेर ग्राहकसँग दिनदिनै खानाको मूल्य पनि बढाउन मिलेन, उहाँले भन्नुभयो, एउटै तरकारीको भाउ दिनदिनै फरक–फरक हुन्छ । ग्राहकले खानासँगै तरकारी पनि थप्छन, छैन भन्न मिल्दैन ।
जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा तरकारी आयात गरिने मुख्य ठाउँ तराईका जिल्लामा यो वर्ष बाढी र डुबानका कारण तरकारी उत्पादन घट्न गई त्यसको प्रतिकूल असर उपभोक्ताले खेप्नुपरेको तरकारी व्यापारीले बताए ।
अघिल्लो वर्षको मूल्य पछिल्लो वर्षसँगै कहिल्यै मिल्दैन, तरकारीका थोक बिक्रेता प्रमोद चौधरीले भन्नुभयो, बाढीका कारण तराईमा तरकारी कम उत्पादन भएपछि अहिले उपभोक्ताको माग धान्न हेटौँडाको पालुङ, दोलखाको जिरी र राजधानी काठमाडाँैबाट ल्याउनुपरेको छ । ठाउँ र ढुवानीअनुसार मूल्य फरक–फरक पर्न जान्छ । गत वर्षको तुलनामा यो वर्ष मूल्य भने त्यति धेरै फरक नभएको थोक व्यापारी चौधरीको भनाइ छ ।
तरकारीको स्थानीय उत्पादनले उपभोक्ताको माग धान्न नसकेकाले बाहिरी जिल्लाबाट आयात गर्नुपरेको कृषिउपज बजार सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा सदरमुकाम सिन्धुलीमाढीमा एक हजार ३८०.१४ मेट्रिकटन तरकारीको माग भएकोमा स्थानीय उत्पादनले ३८०.५ मेट्रिकटन मात्रै धानेको थियो । बाँकी तरकारी पालुङ, हेटौँडा, लालबन्दी, ढल्केबर, जिरी र काठमाडौँबाट आयात गरिएको थियो ।
कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष नरेश देवकोटा यो वर्ष तराईको डुबानपछि तरकारीमा महँगी बढेको बताउनुभयो । प्रत्येक वर्ष साउनदेखि मङ्सिरसम्म मूल्यवृद्धिको सिजन नै हो, उहाँले भन्नुभयो, यो सिजनमा जिल्लाभित्र वर्षाका कारण तरकारी उत्पादन कम हुन्छ तर जिल्लाभित्र तरकारी खेती गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दैगएकोले बाहिरी जिल्लाको आयात भने घट्दो अवस्था छ ।
तरकारी खेती गर्ने कृषकको सङ्ख्या यहीँ रूपमा बढ्दैजाने हो भने अबको पाँच वर्षमा सिन्धुली जिल्ला तरकारी उत्पादनका लागि आत्मनिर्भर बन्ने उहाँको तर्क छ । तरकारी खेतीको पकेट क्षेत्र बनाई कृषि विकास कार्यालयले समूहमार्फत काम गरिरहेको अवस्था रहेको समितिका अध्यक्ष देवकोटा बताउनुहुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds