• ७ वैशाख २०८१, शुक्रबार

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाशको जित सुनिश्चित

blog

लीलाराज खड्का 

बिर्तामोड, मङ्सिर ७ गते । झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित नजिक  पुग्नुभएको छ । मतगणनाको अन्तिममा पुग्दा शर्माले मत अग्रता बढाउँदै लगेसँगै शर्मा जितको नजिक पुग्नुभएको हो ।

हालसम्म ७० हजार ३४१ मतको गणना हुँदा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ३५ हजार ५०८ मतका साथ अग्रता लिनुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले २१ हजार ८२८ मत मात्रै ल्याउनुभएको छ  ।

मतगणनाको  सुरुवाती समयदेखि अग्रता बनाइरहनुभएको शर्माले हाल १३ हजार ६८० मतले अग्रता बनाइसक्नु भएको छ । कुल ८७ हजार ३९६ मत खसेको यस क्षेत्रमा अब १७ हजार ५५ मत मात्रै गन्न बाँकी रहेको छ ।  

निर्वाचन क्षेत्र १ को प्रदेश तर्फको मतगणनामा समेत प्रदेश १ मा नेपाली कांग्रेसका गोपाल तामाङ १४हजार ६०५ मतका साथ अग्रता बनाउँदा उहाँलाई एमालेका रविन कोइरालाले १२हजार ६२६ मतका साथ पछ्याउनुभएको छ । 

प्रदेशसभातर्फ प्रदेशसभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईँ १० हजार ३०२ मतका साथ अग्रता बनाइरहनुभएको छ भने नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बू ९ हजार २६८ मतका साथ बजगाईँलाई पछ्याइरहनुभएको छ । झापा १ मा कांग्रेस र माओवादी केन्द्र तथा एमाले र राप्रपा चुनावी समीकरण गरेर निर्वाचनमा भाग लिएका थिए ।