• १५ चैत २०८०, बिहिबार

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्विप’

blog

चाँदनी आचार्य
घोडाघोडी (कैलाली) मङ्सिर ७ गते ।
कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ ।

बुधबार दिउँसो १२ बजे घोषणा भएको अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधर र (ख)मा खुशीराम चौधरी विजयी हुनुभएको हो ।

घनश्यामले १३ हजार ९२३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने खुशीरामले सात हजार ५३९ प्राप्त गर्नुभएको छ । उहाँहरुको प्रतिद्वन्द्वी (क)का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५७२ मत प्राप्त गर्नुभएको छ भने (ख) का गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर साउदले छ हजार ६१९ मत प्राप्त गर्नुभएको छ ।

घनश्यामले दुई हजार ३५१ मतान्तरले खेमराजलाई पछाडि पार्दै विजय हुनुभएको छ भने खुशीरामले ९२० मतान्तरले समाजवादीका उम्मेदवार साउदलाई पछाडी पार्दै विजयी हुनुभएको हो ।

३ को (क) मा सुरुदेखि अन्तसम्म नागरिक उन्मुक्ति पार्टीका घनश्यामको अग्रता थियो भने (ख) मा समाजवादीका साउद र खुशीरामको अग्रता अगाडि पछाडि हुँदै अन्तिममा उन्मुक्ति पार्टीले बाजी मारेको छ ।

प्रदेश (क) मा जम्मा खसेको मतसङ्ख्या ३३ हजार ९२६ रहेकोमा ३२ हजार ३०२ मत सदर भएको छ भने एक हजार ६१७ मत बदर भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेश (ख)मा जम्मा खसेको मतसङ्ख्या ३० हजार पाँच रहेकोमा २८ हजार १२९ सदरमत रहेको र एक हजार ८७६ बदरमत रहेको जनाइएको छ ।

मङ्गलबार दिउँसो २ बजेदेखि सुरु भएको प्रदेशसभा सदस्यको गणना बुधबार १२ बजे सकिएको छ । समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको मतगणना अहिले १२ः३० बजेबाट हुने निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो ।