• ७ वैशाख २०८१, शुक्रबार

सिन्धुलीको सबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

blog

सिन्धुलीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी । तस्बिर – बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, मङ्सिर ६ गते । सिन्धुली जिल्लाको प्रतिनिधिसभाको दुई वटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेद्वारको सुरुवातदेखि नै अग्रता  छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा दिउँसो २ बजेसम्म १४ हजार ११७ मतगणना हुदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार श्यामकुमार घिमिरेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप कटुवाललाई एक हजार ७२१ मतान्तरले अग्रता लिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका उम्मेद्वार घिमिरेले सात हजार ४२५ मत प्राप्त गर्नु हुँदा नेकपा (एमाले)का उमेद्वार कटुवालले पाँच हजार ७०४ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ र २ को मत गणना सुरु गर्न बाँकी छ ।

निर्वाचन क्षेत्र नं. १ मा ६३ हजार २९६ मत खसेको छ । त्यस्तै, प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं. २ मा  १५ हजार १८९ मत गणना हुँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेद्वार मनोजजंग थापालाई दुई हजार १७५ मत अन्तरले उछिन्नुभएको छ । दाहालले आठ हजार १३६ मत प्राप्त गर्नुहुँदा थापाले पाँच हजार ९६१ मत प्राप्त गर्नुभएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ र २ मा पनि सत्तारुढ गठबन्धनकै उम्मेद्वारले सुरुदेखि नै अग्रता लिनुभएको छ । प्रदेशसभा १ मा १४ हजार ६६९ मत गणना हुँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार छेत्रबहादुर बम्जनले आठ हजार १११ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेद्वार विनोद खड्काले पाँच हजार ३७३  मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा ३२ हजार ७९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा १४ हजार १४७ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार गङ्गानारायण श्रेष्ठले सात हजार ४७९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेद्वार रामकुमार पौडेलले पाँच हजार ८९१ मत ल्याई पछ्याइरहनुभएको छ । यो क्षेत्रमा २४ हजार ५५४ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले मतगणना कार्यलाई तीव्रता दिइएको र बुधबार बेलुकासम्म मतगणना भइरहेका निर्वाचन क्षेत्रको सबै परिणाम निकाल्ने प्रयासमा रहेको बताउनुभयो । मतगणना गर्न बाँकी रहेको निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा १ र २ को मतगणना कार्य आजैबाट सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।