• ८ वैशाख २०८१, शनिबार

सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

blog

मालाङ्गो, सोलोमन टापु, मङ्सिर ६ गते । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्तरमा थियो । यद्यपि हालसम्म कुनै हताहतको खबर आएको छैन ।

इन्डोनेसियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि भूकम्प आएको हो । पश्चिमी जाभाका गभर्नर रिडवान कामिलले इन्डोनेसियाको जाभामा गएको भूकम्पमा परी १६० जनाभन्दा बढीको मृत्यु भएको सीएनएनले जनाएको छ ।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेर बाँचेकाहरूको खोजी गरिरहेका थिए । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको कामिलले बताउनुभएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने कामिलले बताए ।

नोभेम्बर २१ मा स्थानीय समयानुसार दिउँसो १ः२१ बजे पश्चिम जाभाको सियानजुर क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको सीएनएनले जनाएको थियो । भूकम्प १० किलोमिटर गहिराइमा गएको युएसजीएस ले जनाएको छ ।  रासस/एएनआई