वडा र सहकारीलाई रु ४४ लाखको जग्गादान

 


आठराई तेह्रथुम, भदौ २८ गते । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क दुई रोपनी जग्गा उपलब्ध भएको छ ।

अर्पेट एण्ड कम्पनी, दमकका सदस्य भैरव सिटौलाबाट वडा कार्यालयलाई करिब रु ३२ लाख मूल्य बराबरको जग्गादान भएको वडाध्यक्ष तेजप्रसाद कन्दङवाले जानकारी दिनुभयो । उपलब्ध भएको जग्गालाई नापजाँच गरी कार्यालयको भवन निर्माण प्रक्रिया शुरु गर्ने वडाध्यक्ष कन्दङवाले बताउनुभयो ।

यस्तै, आठराई गाउँपालिका–६, चुहानडाँडामा रहेको चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थालाई पनि कम्पनीका सदस्य सिटौलाले आठआना जग्गादान गर्नुभएको छ । सहकारीको कार्यालय भवन निर्माणका लागि करिब रु १२ लाख बराबरको जग्गादान गर्नुभएको सहकारी संस्थाका सचिव परशुराम तिवारीले जानकारी दिनुभयो ।

सहकारीलाई प्राप्त भएको जग्गामा भवन बनाउन स्रोत खोजिने संस्थाका सचिव तिवारीले बताउनुभयो । अर्पेट एण्ड कम्पनीले आठराईमा जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds