नारायणगढ–मुग्लिनको यात्रा सहज बनाइने

वसन्त पराजुली

 

भरतपुर, भदौ २८ गते । दसैँ, तिहार, छठ जस्ता चाडपर्व र प्रदेश नं. २ को निर्वाचनलाई ध्यानमा राखेर नारायणगढ–मुग्लिन सडकको यात्रा सहज बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङको उपस्थितिमा देशकै ‘लाइफ लाइन’ मानिएको नारायणगढ–मुग्लिन सडककोे यात्रा सहज बनाउन मङ्गलबार सरोकारवालाबीच छलफल भयो । छलफलपछि यो सडकलाई सहज रूपमा सञ्चालन गर्न सरोकारवालाबीच सहमति भएको छ । यसलाई बुधबारबाट कार्यान्वयन गरिँदैछ ।
“नारायणगढ–मुग्लिन सडक देशकै मेरुदण्ड हो । यसको यात्रा सहज वनाउनु अहिलेको आवश्यकता हो”, राज्यमन्त्री गुरुङले सरोकारवालासँगको छलफलपछि भन्नुभयो, “तत्काल सडकमा रहेका खाल्डाखुल्डी पुरेर सहज यात्रा गर्नसक्ने अवस्था सिर्जना हुनपर्छ । सडकको समस्याले कुनै पनि यात्रु अलपत्र पर्नु हुँदैन । ”
फेरि पहिरोले सडक अवरुद्ध
यसैबीच नारायणगढ–मुग्लिन सडकको सेती दोभाननजिकै मङ्गलबार बेलुकी सुक्खा पहिरो खसेको छ । पहिरोसँगै ठूलो ढुङ्गा खसेपछि अहिले यो सडक अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले पहिरो पन्छाउन आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।
“माथिबाट खसेको ढुङ्गा फोरेर फाल्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले सुक्खा पहिरो झरिरहेको छ, त्यो रोकिनेबित्तिकै हामी पहिरो पन्छाउँछौँ । ”

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds