सन्दर्भ जितिया पर्व - पर्याय बन्दै थारु सँस्कृति र पर्यटन

sfdfg

नारायण अधिकारी-

चितवन, भदौ २७ गते । तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने जोकोही पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्जसँगै रमाउने थारु संस्कृति पर्यटककै कारण जगेर्ना पनि हुँदै गएको छ । 

पर्यटकलाई लक्षित गरी थारु समुदायले आफ्नो संस्कृति झल्कने नाचगान, भेषभूषा र खानपान प्रदर्शन गर्ने गरेका छन् । थारु संस्कृति र पर्यटन एकअर्काका पर्याय बन्दै आएका छन् । 

कहिलेकाहीँ थारु अग्रजहरू प्रश्न गर्ने गर्दछन् “थारु संस्कृति नदेखाउने हो भने यहाँको पर्यटन व्यवसायी यतिधेरै माथि पुग्दैनथ्यो होला ।” पर्यटन व्यवसायीहरू भन्छन् “पर्यटन क्षेत्रमा थारु संस्कृति नआएको भए यसको संरक्षण यति धेरै हुँदैनथ्यो होला ।” 


क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष गिरिधारी चौधरी थारु संस्कृतिले यहाँको पर्यटनलाई बढावा दिएको बताउनुहुन्छ । एकअर्कामा परिपूरक भएको भन्दै उहाँले आम्दानी हुने भएपछि थारु समुदायलाई संस्कृति जगेर्नामा अरु प्रोत्साहन मिलेको उहाँको भनाइ छ । 

जिल्लाको पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, जगतपुर, मेघौली र माडी क्षेत्रमा आउने पर्यटकका लागि थारु संस्कृति झल्कने लठ्ठी नाँच, झाम्टा नाँच, फागु नाँच, झर्रा, झुम्रालगायतका नाँच देखाउने गरिन्छ । सौराहामा एउटा थारु सांस्कृतिक संग्राहलय छ भने दुईवटा थारु सांस्कृतिक नाँच देखाउने घर छन् । हरेक दिन साँझ रु ५० शुल्क तिरेर सौराहा आउने पर्यटकले सांस्कृतिक नाँच घरमा मनोरञ्जन लिन पाउँछन् । 

थारुहरूको पछिल्लो समय चलेको नाँच लठ्ठी नाँच हो । १५÷२० जना थारु महिला–पुरुष परम्परागत भेषभूषामा सजिएर लठ्ठी लिएर ढोलक बजाउँदै समूहमा नाँच्ने गर्दछन् । अर्काे नाँच झाम्टा हो । जुन जितिया अर्थात् थारुको तीजमा परम्परागतरुपमा नाँचिदै आएको छ । यसमा १७÷१८ जना महिला गीत गाउँदै घुमेर थपडी बजाउँदै नाँच्ने गर्दछन् । 

त्यस्तै फागुको समयमा नाँचिने फागु नाँचमा पुरुषहरू समूहमा मजुरको प्वाख डम्फुमा राखेर बजाउँदै नाँच्ने गर्दछन् । थारु जातिको अर्काे महत्वपूर्ण नाँच झर्रा हो । जसमा महिला र पुरुष झिलिझाली र ढोलक बजाएर संयुक्तरुपमा नाँच्ने गर्दछन् । उनीहरूले यसमा बाँसको छेस्काले झिलिझाली र ढोलक बजाउने गर्दछन् । झुम्रा नाँच पनि थारु संस्कृतिको अर्काे महत्वपूर्ण नाच हो, जसमा महिला र पुरुषले मादल र झिलिझाली बजाउने र समूहमा नाँच्ने गर्दछन् । 

चौधरीका अनुसार यहाँका अधिकांश पर्यटकीय होटलहरूले पाउना आउँदा होटलमै थारु नाँच टोली बोलाएर पर्यटकलाई मनोरञ्जन दिने गरेका छन् । सोवापत टोलीले रु तीन हजारदेखि तीन हजार पाँच सयसम्म शुल्क लिने गर्दछन् । यसका अतिरिक्त पर्यटकबाट “टिप्स” पनि पाउने गर्दछन् । 

जिल्लाका ठाउँठाउँमा थारु संग्राहलय निर्माण हुँदैछन् । थारु सांस्कृतिक संग्राहलय मेघौलीका अध्यक्ष मायाराम चौधरी आदिवासी थारु संस्कृतिले पर्यटन विकासमा ठूलो टेवा पु¥याएको बताउनुहुन्छ । “हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ पर्यटकलाई समेत लक्षित गरी जिल्लामा संग्राहलय खोलिएका छन् । 

सौराहाकी महिला अगुवा लक्ष्मी महतो पर्यटन र थारु संस्कृति एकअर्कामा निर्भर रहेको बताउनुहुन्छ । पर्यटन क्षेत्रको विकासका लागि यो समुदायले ठूलो सहयोग पु¥याएको उहाँको भनाइ छ । 

थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्वराम महतो थारु संस्कृतिले पर्यटन प्रवद्र्धन गर्न ठूलो टेवा पुगेको बताउनुहुन्छ । जिल्लाका ठाउँठाउँमा संग्राहलय निर्माण गरी गाउँ तहदेखि नगर हुँदै क्षेत्र र जिल्ला तहमा भएका कल्याणकारी सभाहरूले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । 

जिल्लामा थारुको जनसंख्या एक लाख ३० हजार रहेको बताउँदै उहाँले आदिम कालदेखिको समुदाय भएकाले यसको कला, संस्कृति, रहनसहन सबै पर्यटकका लागि नौलो हुने बताउनुभयो । थारु समुदायबाट प्रवद्र्धन गरिएका होमस्टेमा पनि पर्यटकको आकर्षण हुने गरेको छ । रासस 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds