• १६ चैत २०८०, शुक्रबार

रुपन्देही क्षेत्र नं १ र ५ मा एमाले २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता

blog

रुपन्देही, मङ्सिर ६ गते । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् । क्षेत्र नं १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा एक हजार सात सय ३८ मतका साथ अगाडि हुनुहुन्छ भने नागरिक उन्मुक्तिका लालवीर चौधरीले एक हजार पाँच सय ९७ मतका साथ पछ्याइरहनुभएको  छ । सत्ता गठबन्धनका उम्मेदवार घनश्याम भुसाल एक हजार चार सय चार मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ  ।

रुपन्देही २ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिनुभएको छ । पछिल्लो मत परिणामअनुसार दुई हजार दुई सय ४४ मतका साथ उहाँले अग्रता लिनुभएको छ भने एक हजार नौ सय ४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहनुभएको छ ।

तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुभएका जनमुक्तिका केशव थापाले एक हजार चार सय ६१ मत ल्यानुभएको छ । क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिनुभएको छ । दोस्रो स्थानमा राप्रपाका दीपक बोहोरा हुनुहुन्छ । उहाँले एक हजार चार सय ३६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिनुभएको छ । उहाँले तीन हजार नौ सय ९४ मतका साथ अग्रता लिनुभएको हो । कांग्रेसका प्रमोद यादवले दुई हजार सात सय ६१ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने  जनमतका भूपेन्द्र यादवले दुई हजार एक सय १४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

क्षेत्र नं ५ मा नेकपा एमालेका वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । उहाँले पाँच हजार ७० मत प्राप्त गर्दा कांग्रेसका भरतकुमार शाहले चार हजार सात सय ५२ मत प्राप्त गर्नुभएको छ ।