• १३ वैशाख २०८१, बिहिबार

अदुवासँग धान साट्दै किसान

blog

लीलाधर वली 

घोराही, मङ्सिर ६ गते । दाङको पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिका–२, मर्पेसका किसान खेतुलाल विकले १२ वर्षदेखि घुइया (पिँडालु), अदुवासँगै बेसार खेती गर्दै आउनुभएको छ । 

पहाडी क्षेत्रमा धान, मकै उत्पादन नहुने भएपछि विकले घुइया, अदुवा र बेसारको व्यावसायिक खेती गर्नुभएको हो । यसबाट उहाँले राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेका बेसार, अदुवा र घुइयासँगै धान साट्ने गरेको बताउनुहुन्छ । 

“मर्पेस पहाडी क्षेत्र भएकाले त्यहाँ धान र मकै राम्रो उत्पादन हुँदैन, भए पनि जङ्गली जनावरले खान दिँदैनन्,” किसान खेतुलालले भन्नुभयो, “त्यसैले जङ्गली जनावरबाट खेती बचाई आम्दानी गर्न बेसार, अदुवा र घुइयाको खेती गर्ने गरेका छौँ ।” 

यसरी उत्पादन गरिएको बेसार, अदुवा र घुइया घोराही बजारमा ल्याएर बिक्री गरिने र कतिपय परिवारले गाउँघरमा डुलाएर धानसँग साट्ने गरेको खेतुलाल बताउनुहुन्छ । धिमधिमे मालारानी बहुउद्देश्यीय कृषक समूहका अध्यक्षसमेत रहनुभएका किसान खेतु लालले तरकारीका रूपमा प्रयोग गरिने घुइया र तरकारीमा मसलाका रूपमा प्रयोग गरिने बेसार र अदुवाको खेतीले राम्रो आम्दानी दिने गरेको बताउनुभयो । 

करिब आठ रोपनी जग्गामा घुइया, अदुवा र बेसार खेती गर्दै आउनुभएका खेतु लाल यही पेसाबाट परिवारको खर्चसमेत जटाउने गर्नुहुन्छ । “घरमा कमाइ गर्ने अन्य उपाय केही छैन । परिवार छोडेर बाहिर कमाउन जान मन लाग्दैन,” उहाँले भन्नुभयो, “त्यसैले पहाडी क्षेत्रमा पनि राम्रो आम्दानी लिन सकिने खेती गर्दै आएको छु ।” उहाँका अनुसार गाउँमा रहेको मालारानी बहुउद्देश्यीय कृषक समूहमा २० देखि २५ घरपरिवार आबद्ध रहेर घुइया, बेसार, अदुवालगायतका कृषि उपज उत्पादनमा संलग्न रहेको बताउनुभयो । 

मर्पेसकै किसान कमला पुनले पनि उत्पादन र आम्दानी राम्रो हुने भएकाले यही व्यवसायलाई निरन्तरता दिँदै आएको बताउनुभयो । “पहाडमा अरू खेतीभन्दा अदुवा, घुइया र बेसार राम्रो हुन्छ,” कमलाले भन्नुभयो, “त्यसैले हामीले घुइया, बेसार र अदुवा उत्पादन गरेर धानसँग साट्छौँ ।” बङ्गलाचुली गाउँपालिकाअन्तर्गतका क्षेत्रमा घुइया, अदुवा र बेसारका लागि हावापानीसँगै माटोसमेत उपयुक्त भएकाले किसानले राम्रो उत्पादन गर्ने गरेका छन् ।