• १६ चैत २०८०, शुक्रबार

याे निर्वाचन स्थानीय तहको जस्तो उत्साह देखिएन

blog

प्रतिस्पर्धीहरू हात मिलाउँदै : धनगढी उपमहानगरपालिका‐ ३ को जनता मावि मतदान केन्द्रमा भेटिएका कैलाली क्षेत्र नं. ५ प्रदेश सभा ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा र एमालेका दुर्गाप्रसाद जोशी । तस्बिर: प्रकाशविक्रम शाह

धनगढी, मङ्सिर ५ गते । प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदाताको उत्साह निक्कै कम देखिएको छ  । गत वैशाखको स्थानीय तहको चुनावमा केही जिल्लामा ७० प्रशितसम्म मतदान भएकोमा यस पटक कैलालीमा ६३, डडेलधुरामा ५२, बैतडीमा ६०, दार्चुलामा ६५, अछाममा ५५, कञ्चनपुर ६२ र डोटीमा ५१.९ प्रतिशतले मतदान गरेका छन् ।

बाजुरामा विवादका कारण केही केन्द्रको मतदान नै स्थगित छ भने बझाङको तथ्याङ्क खसेको मतको प्रतिशत सार्वजनिक भएको छैन । एक हजार १६१ मतदान स्थल रहेको सुदूरपश्चिमका नौ जिल्लामा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

सुदूरपश्चिमका प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६ र प्रदेश सभामा ३२ क्षेत्र छन् । तीमध्ये बाजुरा बाहेक प्राय सबै क्षेत्रका मतपेटिका सङ्कलन भइरहेको निर्वाचन आयोग प्रदेश कार्यालयका प्रमुख प्रेमराज भट्टले बताउनुभयो । बाजुराका तीन स्थलमा विवादका कारण मतदान स्थगित भएको छ भने एमालेले काँग्रेसले धाँधली गरेको भन्दै थप १६ स्थलको मतदान स्थगित गर्नका लागि उजुरी दिएको छ । 

निर्वाचन आयोगका प्रदेशका कार्यालयका प्रमुख भट्टले सुदूरपश्चिमका केही आज बिहान र केही ठाउँमा भोलिसम्म मतगणना सुरु हुन् बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कैलाली क्षेत्र नं. १, ३ र ४ को आज बिहान सर्वदलीय बैठक गरेर मतगणना सुरु गर्ने बताउनुभयो । क्षेत्र नं. २ र ४ को भने सोमबार मात्रै गणना हुने सम्भावना छ । ती क्षेत्रका केही पालिका पहाडी क्षेत्रमा रहेकोले मतपेटिका ल्याउन ढिलाइ हुने भएको हो । 

Author

प्रकाशविक्रम शाह