शान्ति र संविधानलाई पूर्णता दिन सकिए कोइरालालाई सम्मान

Jn khanalकाठमाडौँ, ११ चैत । लोकतान्त्रिक आन्दोलनका शिखर योद्धा गिरिजाप्रसाद कोइरालाको सम्झनामा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँको शान्ति र संविधानको यात्रालाई पूर्णता दिन सहमतिमा पुग्नुपर्नेमा जोड दिइएको छ ।

जिपी कोइराला फाउन्डेसनले उहाँको पाँचाँै पुण्यतिथिका अवसरमा आज यहाँ आयोजना गरेको विचारविमर्श कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपालको पञ्चायत र राजतन्त्रसंग लड्दै सशस्त्र युद्ध लडेका दललाई शान्ति प्रक्रियामा ल्याउन स्व. कोइरालाले महत्वपूर्ण योगदान पु¥याएकोे बताउनुभयो ।

उहाँले भन्नुभयो— “बाह्रबुँदे सहमति, बृहत् शान्ति सम्झौता, अन्तरिम संविधान र जनताको अभिमतलाई अहिलेका राजनीतिक दलले भुल्नु हुँदैन ।” नेता खनालले २०४७ सालको संविधानमा नेकपा (एमाले)ले २७ बुँदामा असहमति राखेर संविधान स्वीकारेजस्तै एनेकपा (माओवादी) लगायतका दलले आफ्नो असहमति थाती राखेर देशलाई निकास दिन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले हत्या, हिंसा र आतङ्कको राजनीतिभन्दा विचारको राजनीतिलाई प्रश्रय दिने नेता कोइराला भएको बताउनुभयो । उहाँले सहमतिबाट संविधान जारी भए स्व. कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै विवादित विषयमा छलफलबाटै टुङ्याउनुपर्ने बताउनुभयो ।

एनेकपा (माओवादी)का नेता टोपबहादुर रायमाझीले नेपालको राजनीतिक आन्दोलनमा परिवर्तनका नायक स्व.कोइराला भएको बताउनुभयो । गलत कुरालाई हटाउने क्षमता भएको नेता गिरिजाप्रसाद भएको भन्दै अहिले देशमा उहाँको अभाव खड्किएको भन्नुहुँदै उहाँले शान्ति र संविधान निर्माण गरेमात्र स्व. कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

नेकपा—माओवादीकी नेत्री पम्फा भुसालले स्व.कोइराला सहमतिबाटै संविधान निर्माण गर्ने पक्षमा रहेको भन्दै अहिले उहाँकै पार्टी उहाँको विचारभन्दा फरक ढङ्गले अगाडि बढेको बताउनुभयो । उहाँले सबै राजनीतिक दल मिलेर संविधान दिएमात्र स्व. कोइरालाको सपना साकार हुने बताउनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महेन्द्र राय यादवले अहिलेको राजनीतिमा गिरिजाप्रसाद कोइरालाको अभाव खड्किएको बताउदै उहाँ बाँचिरहेको भए पहिलो संविधानसभाबाटै संविधान निर्माण हुन्थ्यो भन्नुभयो ।

जिपी कोइराला फाउन्डेसनकी अध्यक्ष तथा काँग्रेस नेत्री सुजाता कोइरालाले स्व. कोइराला संविधानसभाका लागि पार्टीभन्दा माथि उठेर काम गरेको बताउनुभयो । कोइरालाको सपना पूरा गर्न विवादित विषयलाई हल गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा डा राम थपलियाले कोइरालाको योगदानबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना