• ८ वैशाख २०८१, शनिबार

भक्तपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

चुनाव नजिकिँदै गर्दा घरदैलोमा दलहरुको तीव्रता

blog

चुनावी प्रचारप्रसारमा व्यस्त विभिन्न राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरु । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक २८ गते । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरुले आफ्ना प्रचारप्रसारलाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु पनि पुरानै आश्वासन बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन् ।

अहिले देशभरका उम्मेदवारहरु आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौडधुप गरिरहेका बेला भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पनि चुनावी चटारो देखिन्छ ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र उमेदवारहरु मतदाताको घरघरमा पुगेर आफूले जिते सडक, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतको व्यवस्था गरिदिने भन्दै पुरानै आश्वासनका साथ मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुपमा छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आधार क्षेत्रका रूपमा चिनिने यस क्षेत्रमा पार्टी केन्द्रीय सचिव प्रेम सुवाल दोस्रो कार्यकाका लागि मैदानमा हुनुहुन्छ भने सत्ता गठबन्धनबाट सुनिल गोठे र नेकपा (एमाले) बाट नवराज गेलाल मैदानमा हुनहुन्छ ।


गत निर्वाचनमा नेमकिपाका सुवालले ३३ हजार ७६ मत प्राप्त गरेर विजयी बन्नुहुँदा उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुबाजा जोशीले १७ हजार ८१८ मात्रै मत प्राप्त गर्नुभएको थियो ।

साे बेला नेकपा (एमाले)सँग वाम गठबन्धन गरेकाे नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मिलन सुवालले १५ हजार ३७४ मत प्राप्त गर्नुभएको थियो ।

यो निर्वाचनमा पनि सत्ता गठबन्धन र एमालेसामु नेमकिपा प्रमुख चुनौती देखिए पनि उम्मेदवारहरुले यस पटक मतदाताले नयाँ पार्टी रोज्ने बताउँदै चुनावी मैदानमा होमिएका छन् ।


भक्तपुर निर्वाचन क्षेत्र नं १ मा चार जना स्वतन्त्रसहित कुल १४ जना उम्मेदवार मैदानमा छन् । प्रदेशसभातर्फ भने क्षेत्र–१ (ख) नेमकिपाकै प्रभाव क्षेत्र देखिए पनि क्षेत्र–१ (क) मा भने अवस्था कमजोर छ ।

क्षेत्र–१ (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं दोस्रो कार्यकालका लागि मैदानमा हुनुहुन्छ भने क्षेत्र–१ (क) मा नेमकिपाका मीनबहादुर बाटा मैदानमा हुनुहुन्छ ।


क्षेत्र–१ (क) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश श्रेष्ठ, एमालेबाट मोहनवीर श्रेष्ठलगायत १८ जना मैदानमा छन् । उनीहरु प्रायः सबैले नगरकोट सडकखण्ड स्तरोन्नतिको कामदेखि स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने भन्दै मतदातासामु हारगुहार गर्दै आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।


यता, उम्मेदवारहरु पुरानै आश्वासन लिएर मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रचारप्रसारमा जुटिरहेका बेला यस क्षेत्रका स्थानीय किसानहरुले भने मल नपाएको दुःखेसो गरेका छन् ।

भेटिएका अधिकांश मतदाताले सबैजसो दल र उम्मेदवारहरूप्रति वितृष्णा व्यक्त गर्दै धान रोप्ने समयमा नपाएको मल, गहुँ लगाउने मध्य ऋतुसम्म  समेत नपाएको गुनासो गरेका छन् ।


भक्तपुरका किसानहरुले हाल बजारमा रासायनिक मल प्रतिबोरा २७ सय रुपियाँसम्म तिर्न बाध्यता रहेका बताएका छन् । कतिपय किसानले पैसा तिर्दासमेत मल पाउन नसकेको दुःखेसो गरेका छन् ।