• ४ वैशाख २०८१, मङ्गलबार

प्रतिनिधसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन

कर्मचारीलक्षित नमुना मतदान अभ्यास

blog

नमुना मतदान अभ्यास गर्दै कर्मचारी । तस्बिर मीना कंडेल

मीना कँडेल

कावासोती, कात्तिक २८ गते । प्रतिनिधसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनमा मत बदरको सङ्ख्या घटाउने उद्देश्यले पूर्वी नवलपरासीका आठ वटै पालिकामा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । अघिल्ला निर्वाचनभन्दा यसपटक फरक ढङ्गको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य सहायक कर्मचारीका लागि प्रदान गरिएको तालिम अन्तर्गत नै नमुना मतदान अभ्यास गरिएको हो ।

दुई सङ्घीय र चार प्रदेश सभा रहेको पूर्वी नवलपरासीमा खटिने कर्मचारीहरु मतदान अभ्यासमा सहभागी भएका थिए । जिल्लामा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ । कम्तीमा एउटा मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार ४१६ जना र अस्थायी मतदान केन्द्रमा मतदानमा तीन जना खटिने जिल्ला निर्वाचन प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो । 


नमुना मतदानमा प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमुना मतदान गराइएको थियो । निर्वाचनको दिनमा खटिने कर्मचारीहरुले कसरी काम गर्ने भन्ने बारेमा जानकारी दिन नमुना मतदान गरिएको उहाँले बताउनुभयो ।

अभ्यासका क्रममा एउटै मतदाताले चार वटा छुट्टाछुट्टै मतपत्र लिएर छुट्टाछुट्टै बुथमा गएर मत हाल्नुपर्ने हुँदा केही अलमलमा परेका थिए । 

‘नमुना मतदानसँगै मतदाता शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढेका छौं,’ प्रमुख भुषालले भन्नुभयो, ‘जिल्लाका ९२ वटै वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी वडास्तरबाटै मतदान शिक्षा दिइरहेका छौं ।’  

नवलपुरमा जम्मा मतदाता २ लाख ६० हजार ४६१ जना छन् । जिल्लाभर पुरुष मतदाता १ लाख २४ हजार ३३६, महिला मतदाता १ लाख ३६ हजार १२१ र अन्य मतदाता ४ गरी जम्मा २ लाख ६० हजार ४६१ जना छन् ।